रोचक खवर

गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

काठमाडौं । काठमाडौं । संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीद्धारा समातिएका नरेश बहादुर थापा १ लाख धरौटीमा थुनामुक्त भएका छन् ।

उनी गृहमन्त्री रामबहादुर थापाका भाई हुन् । बुधबार आरोपित नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले थापालाई १ लाख रुपैयाँमा थुनामुक्त गर्न आदेश दिएको हो ।

उनीसँगै समातिएका अन्य आरोपितलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतबाट भएको हो ।

थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र मनबहादुर पुन मगरविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

जावेद फरार सूचिमा छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा कैद जीवन बिताइरहेका छन् ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीसँग नरेको सम्बन्ध भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।

गुण्डा नाइके बस्न्यात निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी भएको हत्याका मूख्य योजनाकार हुन् ।

उनले जेल भित्रै बसी अन्य व्ववसायीलाई धम्क्याउने र रकम नदिन शरदकै हालत बनाउने भन्दै धम्की दिने गरेका थिए ।

त्यस काममा उनका सहयोगी साथ दिइरहेका थिए । सोही प्रणाणका आधारमा प्रहरीले छानविन अगाडी बढाएको थियो ।