समाचार

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व्यवस्थापिका संसदमा संबोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो दुई बजे सम्बोधनका लागि प्रधानमन्त्री संसद भवन जाने कार्यक्रम रहेको छ ।

लामो समय बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री बुधबारदेखि भने सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।

संघीय संसदको चालू बजेट अधिवेशन बिहीबार अन्त्य हुने संसद सचिवालयले जानकारी दिएको छ । बजेट अधिवेशन सकिने दिन पारेर प्रधानमन्त्रीले संबोधन गर्न लागेको सचिवालयको भनाई रहेको छ ।

मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपति कार्यालयले उक्त पत्र सदर गरेपछि अधिवेशन अन्त्य हुन लागेको हो ।

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि केही विधेयक प्रस्तुत हुने भएका छन ।

बिहीबार शून्य तथा विशेष समयको कार्यतालिका छैनन् । त्यसकारण विहीबार अन्य सांसदले आफ्नो भनाई राख्न पाउने छैनन् ।

बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको हो । सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रयोजनका लागि नै यो अधिवेशन आह्वान हुने गर्छ ।