समाचार

भिजिट इयरको उद्घाटनमा राष्ट्रप्रमुखलाई सहभागी गराउन कूटनीतिक नियोगमा पत्राचार

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा सम्बन्धित मुलुकका राष्ट्रप्रमुखलाई सहभागि गराउने वातावरण मिलाउन विदेशस्थित कूटनीतिक नियोगमा पत्राचार गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटटराईका अनुसार नेपाली कूटनीतिक नियोग रहेका मुलुकले जनवरी पहिलो साता कुनै एक दिन भब्य रुपमा उक्त देशमा भ्रमण वर्षको उद्घाटन गर्न र उद्घाटनमा उक्त देशको राष्ट्रप्रमुखलाई सहभागी गराउन पत्राचार गरिएको छ ।

नेपालमा भने भ्रमण वर्ष सबै प्रदेश र स्थानीय तहसम्म एकै दिन उद्घाटन गर्ने तयारी छ । उनका अनुसार १ जनवरीको दिन भब्य कार्यक्रम गरी भ्रमण वर्ष मनाइदैछ ।

उनले भ्रमण वर्षका लागि कम समय भएपनि दत्तचित्त भएर काम गर्नुपर्ने बताए । जिम्मेवारी लिएका व्यक्तिलाई काम गर्न जिम्मेवारी दिइएको भन्दै नसक्ने भए पद छाड्न समेत आग्रह गरे ।

भ्रमण वर्ष सबैको भएको भन्दै यसलाई सबै नागरिकले अपनत्व दिनुपर्ने उनको भनाई छ ।

शनिबार संचारकर्मीसँग बोल्दै मन्त्री भट्टराईले भ्रमण वर्षकै शूरुवाती दिनमै भैरहवामा गौतमबुद्ध विमानस्थल संचलनमा आउने आश्वासन दिए । उनका अनुसार यो विमानस्थ्ल म्यूनिख एयरपोर्टलाई व्यवस्थापनको जिम्मा दिने तयारी रहेको छ ।