समाचार

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

काठमाडौं । प्रहरीले चाडपर्व लक्षित गर्दै नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ । योजना अनुसार चाडपर्व अवधिभर सादा पोशाकमा प्रहरी खटिने छन् भने मोटरसाइकलबाट चुस्त गस्तीलाई प्राथमिकता दिइने भएको छ ।

नाकाहरुमा तालीमप्राप्त कुकुरसहितका प्रहरीले कडा चेकजाँच गर्ने भएका छन् । प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि तयार पारेको विशेष सुरक्षा योजना लागू गरेको जानकारी गराएको हो ।

यस अवधिमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाइने आइतबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार चाडपर्वको बेला कुटपिट, चोरी, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघन जस्ता अपराध बढी हुने गर्छन् ।

यस्तो समयमा पेशेवर आपराधिक क्रियाकलापभन्दा पनि आकस्मिक उत्पन्न हुने घटनाबाट बढी अपराध हुने गरेको प्रहरीको भनाई छ ।

प्रहरीले सुरक्षा चेकजाँक कडा बनाएको बताएको छ । काठमाडौंमा घर भएका घरबेटीले घर रित्तो बनाएर जाने भए प्रहरी वा छिमेकीलाई जानकारी गराएर मात्र निस्क्न आग्रह गरेको छ ।

चाडपर्वमा बढी अपराध हुने सक्ने स्थान छनोट गरी त्यहा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले उल्लेख गरेको छ ।

बढी भीडभाड हुने क्षेत्रमा बढी नै संख्यामा सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

प्रहरीले चाडबाडमा काठमाडौं मात्र मात्र ६० वटा पैदल गस्ती समूह खटाउने भएको छ ।

६७ वटा स्थायी पिकेट, २५ वटा साइकल गस्ती टोली, ५३ वटा मोटरसाइकल गस्ती टोली र ४३ सीआरभी, ४८ मोबाइल गस्ती टोली परिचालन हुने प्रहरीको भनाई छ ।

सादा पोशाकमा ७० जना प्रहरीसमेत काठमाडौंमा खटिएका छन् ।