फिचर

अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु

न्यूयोर्क
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको छ । हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी हुन् ।

युक्रेनी समकक्षीलाई पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशमा आएसँगै पिलोसी महाभियोगका प्रकृया अघि बढाउने निर्णयमा पुगेकी हुन् । पार्टी भित्रको तीब्र दवावकाबीच पनि उनले यस अघि महाभियोग अघि बढाउन मानेकी थिइनन् । २०१६ को निर्वाचनमा रसियन हस्तक्षेप स्वीकार गरेका कारण ट्रम्पलाई पदबाट हटाउन १०० बढि सांसदहरुले यसअघिनै पिलोसीलाई दवाव दिइ सकेका थिए । तर, उनी त्यतिले मात्र तथ्य स्थापित नहुने अडानमा थिइन् । मंगलबार भने उनले युक्रेन प्रकरणमा राष्ट्रपतिले कानून उल्लंघन गरेको प्रष्ट प्रमाण मिलेको बताएकी छिन् । सोही कारण युक्रेन प्रकरण लिक भएको एक सातामै ट्रम्पलाई पदबाट हटाउने प्रकृयाका लागि पिलोसी सहमत भइन् ।

बाइडेन अहिले सन् २०२० को राष्ट्रपतिय चुनावलागि डेमोक्रेटिक प्रत्याशीहरुमा अग्रस्थानमा छन् । सर्भेक्षणहरुले ट्रम्प माथि उनी हावि हुने देखाइ रहेका छन् । यस्तोमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशित भएको थियो । युक्रेनले अमेरिकाबाट पाउने सैन्य सहयोगकाे पूर्व सर्तको रुपमा बाइडेनमाथि अनुसन्धान गर्न ट्रम्पले दवाव दिएको समाचारहरुमा उल्लेख छ । समाचारहरुका अनुसार ओबामा राष्ट्रपति हुँदा दिइएको सैन्य सहयोगमाथि भएको भ्रष्टाचारमा बाइडेनलाई मुछ्नु पर्ने ट्रम्पको सर्त थियो ।

अमेरिकी कानून अनुसार आफ्नो आर्थिक लाभका लागि विदेशीलाई गुहार्नु गैर कानूनी हो । त्यसैले आफ्नो चुनावी लाभका लागि ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई दवाव दिएको पुष्टि भए उनले पद छोड्नु पर्ने रिपब्लिकन नेताहरुले बताएका छन् ।

रिपब्लिकन बहुमत रहेको संसदको माथिल्लो सदन सिनेटले समेत मंगलबार युक्रेनी राष्ट्रपति र ट्रम्पबीचको सम्बादको पुर्ण पाठ संसदलाई उपलब्ध गराउन निर्देशन दिइ सकेको छ । राष्ट्रपतिलाई पदबाट हटाउन तल्लो सदनले साधारण बहुमत प्रस्ताव पारित गर्न सक्छ । त्यसलाई सिनेटले दुई दुहाई मत सहित अनुमोदन गर्नु पर्ने हुन्छ ।