रोचक खवर

कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई सार्वजनिक गरियो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंक लुट्ने मास्टर माइण्ड अफ्रिकी मुलका नागरिक पिटरको हो । उनी भारतमा बस्छन् ।

उनले नेपालमा विभिन्न व्यक्तिलाई एजेन्टका रुपमा प्रयोग गरी निश्चित रकम दिने र लुटिएको रकम हुण्डीमार्फत भारतमा बुझ्ने गरेको प्रहरीले बताएको छ ।

पिटरले नुवाकोट मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङमा मूख्य रुपमा नेपालमा परिचालन गरेको बताएको छ ।

पिटर पटक पटक नेपाल आएको र नेपालीसमेत प्रष्ट बोल्न सक्ने समातिएका अभियुक्तहरुले जानकारी गराएका छन् ।

आइतबार लहान शाखाबाट ह्याक भएर पचास लाख रुपैयाँ तामाङको खातामा आएको थियो । प्रहरीले उनको डेराबाट ३१ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

उनलाई पक्राउ गरेपछि पिटरको संलग्नताको खुलासा भएको हो । बुझेको रकम हुण्डीबाट पठाउने मेलो मिलाउँदा मिलाउँदै प्रहरीको फन्दामा पुगेपछि घटना पर्दाफास भएको हो ।

तामाङलाई हिरासत लिएपछि प्रहरी सोमबार बिहान कृषि विकास बैंकको केन्द्रीय कार्यालय पुग्यो। त्यहाबाट प्रहरीले चार करोड ७३ लाख रुपैयाँ चोरी भएको पत्ता लगायो ।

त्यसपछि मात्र प्रहरी र बैंक कर्मचारीले लहान शाखाबाट बैंकको सिस्टम ह्याक भई रकम चोरी भएको पत्तो पाएका थिए ।

पिटरले तामाङ जस्तै अरु मानिसलाई पनि एजेन्ट बनाउँदै खाता खोल्न लगाउने र हुण्डीबाट रकम पठाउन लगाउने गरेका थिए । त्यसवापत उनले एजण्टलाई कमिसन दिने गरेका थिए ।

प्रहरीले बुधबार पिटरका एजेन्टका रुपमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका-४ का तामाङसहित रसुवा नौकुण्ड गाउँपालिका-५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका-२ का पुष्पराज खड्कालाई पक्राउ गरेको छ ।

यसैगरी लमजुङ दोर्दी गाउँपालिका-३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका-४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय साह र भजनी नगरपालिका-१ कै चन्द्रबहादुर बुढालाई सार्वजनिक गरेको छ ।

अन्य ८ एजेन्ट फरार रहेको प्रहरीको भनाई छ ।