फिचर

राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको राँको दन्कियो, 'युक्रेनलाई दवाव दिएको पुष्टि'

न्यूयोर्क
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको भोली पल्टै यो प्रकरण तीब्रता पाएको छ । मंगलबार मात्र हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी थिइन् ।

बुधबार बिहान ह्वाइट हाउसले ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की बीचको टेलिफोन सम्बादको विवरण सार्वजनिक गरेको थियो । त्यसलाई डेमोक्र्याटहरुले कानूनीको सीधा उल्लंघनको रुपमा अथ्र्याएका छन् भने केही रिपब्लिकन नेताले सामान्य कुराकानीको संज्ञा दिएका छन् । त्यति हुँदा पनि मिट रोम्नी लगायतका रिपब्लिकन सिनेटर एवं बरिष्ठ नेताले भने उक्त विवरण गम्भीर रहेको प्रतिकृया दिएका छन् ।

विवरण अनुसार ट्रम्पले युक्रेनी समकक्षी समक्ष पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध अनुसन्धानका लागि प्रष्ट जोड दिएका छन् । उनले आफुप्रति उदारता देखाउन अनुरोध गर्दै युक्रेनलाई थप सहयोगका लागु आफु तयार रहेको बताएका छन् ।
बुधबार साँझ न्यूयोर्क टाइम्सले प्रकाशन गरेको अर्को समाचार अनुसार ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई फोन गर्नु पूर्व नै बाइडेन माथि अनुसन्धान गर्नु पर्ने सर्त राखेका थिए ।

अर्कोतिर युक्रेन प्रकरणबारे अमेरिकी खुफिया सम्यन्त्रलाई सूचना दिने जासुस (ह्विसेलब्लोअर)को उजुरी विवरण पनि आज ह्वाइट हाउस र संसदीय समितिलाई उपलब्ध गराइएको छ । ट्रम्पले यो उजुरीलाई ‘क्लासिफाइड’ सूचीमा राखेको कारण सांसदहरुले सार्वजनिक गर्न मानेका छैनन् । तर, उजुरी विवरण हेरेका डेमोक्रेटिक सांसदहरुले त्यहाँ उल्लेखित तथ्य झनै गम्भीर रहेको र ट्रम्पले अक्षम्य गल्ती गरि सकेको पुष्टि भएको प्रतिकृया दिएका छन् । रिपब्लिकन सांसदहरु भने केहीले उजुरीलाई सामान्य मानेका छन् भने केहीले गम्भीर रहेको बताएका छन् ।

अहिले सम्म ती ह्विसेलब्लोअर को हुन् भन्ने पुष्टि भएको छैन । उनी गोप्य रुपमा सांसदहरुलाई भेट्न तयार भएको समाचार बुधबार साँझ प्रकाशित भएको छ । उनको गोपनियता र सुरक्षाको सम्पुर्ण प्रत्याभूती मिलाएको जासुसी सम्यन्त्र नेशनल इन्टिलिजेन्सले जनाएको छ ।

इन्टिलिजेन्सका कार्यबाहक निर्देशक जोसेफ मागुरले बिहीबार हाउस र सिनेटका इन्टिलिसेन्स कमिटीमा बयान दिन लागेका छन् । ह्वाइट हाउसले केही तथ्य लुकाउन अत्यधिक दवाव दिएपछि उनले राजिनामा दिने चेतावनी दिएको समाचार बुधबार वासिंटन पोष्टले ब्रेक गरेको थियो । मागुरले मंगलबार विज्ञप्ति निकालेर आफुले संसद र ह्वाइट हाउससँग समन्वय गर्ने एवं कानुन पालना र कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताएका थिए । बिहीबार हुने उनको सुनुवाइले महाभियोग प्रकरणलाई थप पेचिलो बनाउने विश्लेषण गरिएको छ ।

२०१६ को निर्वाचनमा रसियन हस्तक्षेप स्वीकार गरेका कारण ट्रम्पलाई पदबाट हटाउन १०० बढि सांसदहरुले यसअघिनै स्पिकर पिलोसीलाई दवाव दिइ सकेका थिए । तर, उनी त्यतिले मात्र तथ्य स्थापित नहुने अडानमा थिइन् । मंगलबार भने उनले युक्रेन प्रकरणमा राष्ट्रपतिले कानून उल्लंघन गरेको प्रष्ट प्रमाण मिलेको बताएकी छिन् । सोही कारण युक्रेन प्रकरण लिक भएको एक सातामै ट्रम्पलाई पदबाट हटाउने प्रकृयाका लागि पिलोसी सहमत भइन् ।

बाइडेन अहिले सन् २०२० को राष्ट्रपतिय चुनावलागि डेमोक्रेटिक प्रत्याशीहरुमा अग्रस्थानमा छन् । सर्भेक्षणहरुले ट्रम्प माथि उनी हावि हुने देखाइ रहेका छन् । यस्तोमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशित भएको थियो । युक्रेनले अमेरिकाबाट पाउने सैन्य सहयोगका पूर्व सर्तको रुपमा बाइडेनमाथि अनुसन्धान गर्न ट्रम्पले दवाव दिएको समाचारहरुमा उल्लेख छ ।

अमेरिकी कानून अनुसार आफ्नो आर्थिक लाभका लागि विदेशीलाई गुहार्नु गैर कानूनी हो । राष्ट्रपतिलाई पदबाट हटाउन तल्लो सदनले साधारण बहुमत प्रस्ताव पारित गर्न सक्छ । त्यसलाई सिनेटले दुई दुहाई मत सहित अनुमोदन गर्नु पर्ने हुन्छ ।