समाचार

बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा

काठमाडौं । नेपालमा पर्यटक आगमनको वृद्धिदर खस्किएको छ । अंग्रेजी वर्ष सन् २०१९ को ८ महिना (जनवरी देखि अगस्ट) को तथ्यांक अनुसार ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल आएका छन् ।

यो अघिल्लो वर्षको यही अवधिको तुलनामा मात्र ९ प्रतिशत बढी हो । सन् २०१८ को वार्षिक पर्यटक आगमन वृद्धिदर २५ प्रतिशत रहेको थियो ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहँदा पर्यटक आगमनले उत्साहजनक छनक भने दिन सकेको छैन ।

नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले यस वर्ष जेट एयरले नेपाल उडान कटौती गर्दा पर्यटक आगमनमा प्रभाव परेको हो ।

जेट एयरवेज नेपालमा धेरै यात्रु बोक्नेमध्ये एक कम्पनी थियो । तर, गत अप्रिल महिनादेखि त्यो कम्पनीसमेत टाट पल्टिएर बन्द भएको छ ।

८ महिनामा हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ र स्थलमार्ग १ लाख २२ हजार ८ सय ३८ पर्यटक भित्रिएका छन् ।

सरकारले स्थलमार्गबाट भित्रने भारतीयलाई पर्यटक मान्दैन । यसअवधिमा १ लाख ४२ हजार २ सय ८६ जना भारतीय नागरिक नेपाल आएका छन् ।

सार्क मुलुकबाट कूल २ लाख ४ हजार १ सय ९२ जना पर्यटक आएका छन् ।भारतपछि चीनबाट बढी पर्यटक नेपाल आएका छन् । ८ महिनामा १ लाख ६ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् ।

यूरोपका विभिन्न मुलुकबाट १ लाख ३६ हजार १ सय ९८ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको तुलनामा मात्र ३.२ प्रतिशत बढी हो ।

यूरोपेली देशमा पनि नेपालमा बेलायतबाट धेरै पर्यटक आउँछन् । यस वर्ष ८ महिनामा ३६ हजार ९ सय ७२ जना बेलायती नेपाल आएको तथ्यांक छ ।

नर्वेबाट गत वर्षभन्दा पनि कम पर्यटक नेपाल आएका छन् । अमेरिकी पर्यटक आगमन सामान्य बढेको छ ।

८ महिनामा ५८ हजार ६ सय २१ अमेरिकी नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ५.८ प्रतिशतले बढी हो । बौद्धमार्गी देश थाइल्याण्ड र जापानबाट भने नेपालमा पर्यटक आगमन दर बढेको छ ।

थाइल्याण्डबाट ३८.९ प्रतिशत र जापानबाट १२.८ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांक रहेको छ । जापानमा नेपाल एयरलाइन्सले उडान बिस्तार गरेका कारण पर्यटक आगमन अझै बढ्ने अपेक्षा रहेको छ ।