समाचार

घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

न्यूयोर्क । नेपाल र घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धी संयुक्त समझदारीमा हस्ताक्षर भएको हो ।

अफ्रिकी मुलुक घाना अब नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६८ औं मुलुक बनेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासँगै द्धिपक्षीय सहकार्यमा जोड दिने सम्बन्धमा सहमति भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ महासभामा भाग लिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानमा उनले नेपाली टोलीको नेतृत्व गरेका हुन् ।

मन्त्री ज्ञवालीले न्यूयोर्कमा बहराइन, नर्वे, साउदी अरेबिया र भेनेजुयलाका विदेशमन्त्रीसँग पनि द्धिपक्षीय सम्बन्धका विषयमा छलफल गरेका छन । मन्त्री ज्ञवालीले बुधबार मात्र अमेरिकी राष्ट्रपतिसँग भेटेका थिए ।