समाचार

गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ ।

महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

यस हलमा ३ हजार सीट क्षमता हुने विभागको भनाई छ । विभागले सभाहल बनाउन बोलपत्र समेत आह्वान गरिसकेको छ ।

यसै वर्ष निर्माण सम्पन्न गरी नयाँ वर्षसँगै संचालनमा ल्याउने योजना छ ।

यसले माइट टूरिजम फस्टाउन र एकसाथ धेरै पर्यटक भित्राउने वातावरण निर्माण गर्ने सरकारको भनाई छ ।

यो सभाहल नेपालकै ठूलो क्षमताको बन्ने भएको छ । गोदावरीको १ सय १२ रोपनी क्षेत्रफलमा सहभाल बन्ने भएको हो । यस सभाहलको लागत ७२ करोड अनुमान गरिएको छ ।