समाचार

पर्यटन वर्ष २०२० को सन्देश प्रवाहमा सरकार जुटेको छ : मन्त्री भट्टराई

विश्व न्यूज संवाददाता
अमेरिका ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० को सन्देश प्रवाहको कार्यमा सरकार जुटिरहेको बताएका छन् । इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन(आइकाओ)को वैठकमा सहभागि हुने क्रममा हाल क्यानडामा रहेका पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमणको निम्ति राम्रो गन्तव्य भएको प्रचारमा सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
विभिन्न देशका झण्डैं २ हजार बढीको सहभागिता रहेको आइकाओको वैठकमा आफ्नो सहभागिता र आफूले त्यहाँ राखेको धारणाले पर्यटन वर्ष २०२० को प्रचार र अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको टेलिफोन संवादमा मन्त्री भट्टराईले जनाए ।
उनले भ्रमण वर्ष सफल पार्न हाम्रो सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदैं पछिल्लो केही समययतादेखि गरिएको कार्यक्रम फलदायी बनेको बताए ।
भ्रमण वर्षको प्रवद्र्दनका लागि भ्रमण वर्ष सुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कुटनितिक नियोगका अधिकारीहरुलाई बेलाईने जानकारी दिदैं उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दुतावास तथा नियोगहरुमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीहरुलाई बोलाएर विभिन्न देशमा समेत कार्यक्रम गरिने जानकारी मन्त्री भट्टराईले गराए ।
उनले विभिन्न राष्ट्र तथा शहरहरुमा रहेका पर्यटन दुतहरुलाई समेत यसमा परिचालन गरिने बताउँदैं देश वाहिर गैर आवासीय नेपालीको समेत भ्रमण वर्ष सफल पार्न विशेष योगदान र उनीहरुको सहयोग र सहभागिता आवश्यक रहेको बताए ।