फिचर

संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति

काठमाडौं । चीनको बेइजिङस्थित डाक्सिङ विमानस्थलमा हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । यो संसारकै ठूलो विमानस्थलका रुपमा चीनले हालै निर्माण सम्पन्न गरेको हो ।

चीनले अघिल्लो साता मात्र यो विमानस्थलको संचलन गरेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार काठमाडौंबाट बेइजिङमा दैनिक एक उडान गर्ने गरी कम्पनीले स्लट प्राप्त गरेको छ ।

अबको एक महिना भित्र तयारी पुरा गरी कम्पनीले यस रुटमा उडान बिस्तारको योजना बनाएको उनले जानकारी दिए ।

हिमालयले सन् २०२० भित्रै चीनका आधा दर्जन शहरमा उडान बिस्तार गरिसक्ने बताएको छ । अहिले अन्तर्राष्ट्रिय गन्तब्यमा हिमालयका जहाज उड्छन् ।

यस कम्पनीले चीनमा उडान बिस्तार गरेपछि नेपालबाट चीनमा उडान गर्ने यो एक मात्र कम्पनी हुने छ । किनकी नेपाल एयरलाइन्सले अझै चीनमा उडान बिस्तार शुरु गर्न सकिरहेको छैन ।

चीनबाट भने नेपालमा ५ वटा कम्पनी आउने गरेका छन् । चिनियाँ शहरमा उडान बिस्तार गर्न हिमालयले एक महिना भित्रै नयाँ जहाज ए ३१९ थप्ने योजना बनाएको छ ।

यो १ सय २८ सिट क्षमताको हुने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । कम्पनीले मलेसियामा समेत पुनः उडान शुरु गर्ने भएको छ ।

मलेसियामा कम्पनीले नेपाली कामदारको अनुमति रोकिएपछि उडान रद्द गरेको थियो । सरकारले मलेसियाको रोजगारी शुरु गरेसँगै मलेसियाले पुनः यस रुटमा उडान बिस्तारको योजना बनाएको हो ।

हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ ।

मे ३१, २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।

चीनको बेइजिङसहित ल्हासा, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान बिस्तारको योजना रहेको जानकारी गराएको छ ।