स्वास्थ्य

चाडबाडमा सरकारी स्वास्थ्य संस्था बन्द नहुने

काठमाडौं । दशैं र तिहारको बेला उपचारमा कुनै समस्या भोग्नु नपर्ने भएको छ । सरकारी आफ्नो स्वामित्वका स्वास्थ्य संस्था खुलै राख्ने निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारमा सार्वजनिक बिदाको समयमा समेत स्वास्थ्यसेवा भने सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले सबै स्वास्थ्य संस्था खुला राख्ने निर्णय गरी त्यसको कार्यान्वयनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरेको थियो ।

सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सै घण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

चाडबाडमा दूर्घटना बढी हुने र ग्रामिण भेगमा धेरै मानिस जाने भएका कारण तल्लो तहमा स्वास्थ्य संस्था दुरुस्त राख्ने निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।