समाचार

टाइम्स स्क्वायरमा ‘भिजिट नेपाल ‘२०२०’

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
सन् २०२० मा धेरै भन्दा धेरै बिदेशी पर्यटक नेपाल भित्र्याउने उदेश्यले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रचारात्मक अभियान सुरु गरिएको छ । ४० औं विश्व पर्यटन दिवसको अवसर पारेर विश्वकै चर्चित व्यावसायिक पर्यटन गन्तव्य न्यूयोर्कको टाइम्स स्क्वायरबाट नेपाल भ्रमण वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ को प्रचारात्मक अभियान शुरु गरिएको हो । यस अभियानलाई अमेरिका लगायत बिश्वभर फैलाउँन प्रसार प्रचारलाई तिब्र पारिएको आयोजकले जनाएको छ ।
नेपाली महावाण्ज्यि दूतावास न्युयोर्क, ट्राभल ब्यूरो अफ नेपाल युएसए, र नेपाल अदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संयुक्त आयोजनामा गत शुक्रबार एक सांस्कृतिक कार्यक्रम गर्दै टाइम्स स्क्वायरमा भेला गरिएको थियो । कार्यक्रममा नेवारी संस्कृति झल्कने लाखेनाँच, कुमारी नृत्य, मन्जुश्री नृत्य, लगायतका मौलिक नेपाली नृत्य प्रस्तुत गरिएको थियो । जसलाई हेर्न टायम्स स्क्वायर क्षेत्रमा घुम्न आएका पर्यटकको घुँइचो लागेको ट्राभल ब्यूरो अफ नेपाल युएसएका सिइओ प्रदिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाम्रा मौलिक संस्कृति झल्कने यस्ता किसिमका कार्यक्रमले नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा सुधार आउनेछ ।
विगत वर्षहरु भन्दा यस वर्ष नेपाल भित्रिने पर्यटकको संख्या बढिरहेको पाइएको छ । अमेरिकी दूतावासका अनुसार सन् २०१९ को पहिलो ८ महिनामा नेपाल आउने अमेरिकी पर्यटकको संख्यामा ६ प्रतिशतले बृद्धि भएको छ । दूतावासले आठ महिनामा ५८ हजार ६२१ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिएको छ ।
टाइम्स स्क्वायरको बिच सडकमा कविना महर्जनले कुमारी नृत्य, सरिना महर्जनले मन्जुश्री नृत्य, प्रेम गोपाल महर्जनले निकै उत्कृत्ट ढंगले लाखे चान प्रस्तुत गरेका थिए । न्हुच्छे ढंगोलले ढोलक बजाएर लाखेनाँचमा साथ दिएका थिए । भने सन्जिता कोइरालाको नेपाली लोक नृत्य प्रस्तुतीले कार्यक्रमको निकै शोभा बढाएको थियो । पर्यटन प्रवद्र्धन बढाउन र बिदेशी पर्यटक भित्र्याउने उदेश्य बोकेर ट्राभल ब्यूरो अफ नेपाल युएसएले यस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा भिजिट नेपाल २०२० लेखेको सेतो टिसर्ट लगाएका न्यूयोर्क र न्यूजर्सी राज्यमा बसोबास गर्ने नेपालीको उल्लेख्य सहभागिता थियो । हातमा नेपालको झण्डा बोकेर गरिएको प्रचारात्मक कार्यक्रमले विश्वभरबाट घुम्नका लागि टाइम्स स्वायर आइपुगेका पर्यटकको ध्यान तानेको थियो ।
कार्यक्रममा न्यूयोर्कस्थित महावाणिज्यदूत पुष्पराज भट्टराई, फिप्नाका अध्यक्ष मानबहादुर रानामगर, फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, मिस नेपाल युएसए २०१९ श्रेया गजुरेल, मिस नेपाल युनिभर्स २०१७ नग्मा श्रेष्ठ लगायत नेपाली समुदायका बिभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।