विश्व

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

काठमाडौं । अब अष्ट्रेलियाका सबै शहरमा नेपालबाट उडान हुने बाटो खुला भएको छ ।

नेपाल र अष्ट्रेलियाबीच मंगलबार सम्पन्न द्धिपक्षीय प्रारम्भिक हवाई सेवा सम्झौताले दुबै मुलुकका वायुसेवा कम्पनीले एक अर्का देशका विमानस्थलमा उडान गर्न सक्ने बाटो खुलेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अब नेपाली वायुसेवा कम्पनीले पर्थ, मेलवर्न, सिड्नी र ब्रिसवेन गरी ४ विमानस्थलमा साताको ७ उडान गर्न सक्ने भएका छन् ।

सम्झौताले नेपाल एयरलाइन्सलाई निकै सहज भएको छ । अब उसले अष्ट्रेलिया उडानको यारी गर्न सक्ने गरी सहजिकरण भएको छ ।

क्यानडामा दुबै मुलुकका सरकारी प्रतिनिधिबीच मंगलबार हस्ताक्षर भएको हो । अष्ट्रेलिया नेपालसँग हवाई सेवा सम्झौता गर्ने ४० औं मुलुकसमेत बनेको छ ।

पढाई र कामका सिलसिलामा अहिले अष्ट्रेलियामा लाखौं नेपाली बसोबास गर्छन् ।

नेपाल र अष्ट्रेलिया बीच सिधा उडान हुन सके त्यसले वायुसेवा कम्पनी र नेपाली यात्रु, दुबैलाई फाइदा पुग्ने थियो ।

माथिका ४ विमानस्थलमा साताको ७ बाहेक अन्य शहरमा भने नेपाली जहाजले असिमित उडान गर्न सक्ने अधिकारी अष्ट्रेलियाले नेपाललाई दिएको छ ।

नेपालले भने अष्ट्रेलियाका जहाजलाई काठमाडौंमा ७ वटा र भैरहवा तथा पोखरा विमानस्थलमा २८ वटा उडान प्रतिसाता उपलब्ध गराउने सहमति गरेको छ ।