समाचार

सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ परिचर्चा

कल्पना घिमिरे

न्युयोर्क/अमेरिका
साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ पुस्तकमाथि परिचर्चा गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सोमबार न्युयोर्कको ज्याक्सन हाइटमा भएको पुस्तक परिचर्चा कार्यक्रममा लेखक ज्ञवाली आँफै उपस्थित भएकी थिइन् । संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई संबोधन गर्न आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै उनीपनि अमेरिका भ्रमणमा आएकी हन् । उनी परराष्ट्रमन्त्री ज्ञवालीकी श्रीमती हुन् ।
उनी अमेरिका आएको मौका पारेर अनेसासले साहित्यकार ज्ञवालीसंग साक्षात्कार गर्दै, उनको कृतिमा छलफल गरेको थियो । अनेसासले साहित्यकार ज्ञवालीलाई कदरपत्रले सम्मान गरेको छ । साहित्यकार ज्ञवालीले आफ्ना जीवनका पीडा ब्यथा र भोगाइहरुलाई जस्ताको तस्तै पुस्तकमा उतारेकी छिन् । आफुले जन्मदै देखि विभेदको सामना गर्नुपरेको, छोरालाई स्कुल पठाउने तर छोरी नपढाउने हाम्रो त्यतिबेलाको समाजमा पढ्नका लागि आफुले गरेको बिद्रोह र संघर्ष, १४ वर्षको उमेरमा स्कुल भर्ना हुँदाको अफ्ठेरो समाजले हेर्ने दृष्ट्रिकोण सबै अनुभव पुस्तकमा समेटिएको छ । राजनीतिमा सक्रिय छँदा भोगेका पीडा र पछि सन्तानको लागि सबै छोडेर घर सम्हाल्नु पर्दाको छटपटि पुस्तकले समेटेको छ ।
‘मेरो मात्र होइन आम नेपाली महिलाले यहाँसम्म आइपुग्नका लागि गरेको संघर्षको कथा हो’ पुस्तकको छलफलका क्रममा उनले भनिन्, ‘यो मेरो ‘रियल’ भोगाइ हो यो पढेर कसै न कसैलाई प्रेरणा मिल्न सक्छ भन्ने उदेश्य राखेर लेखेकी हुँ । एउटा आमालाई राजनीति भन्दा धेरै ठूलो सन्तान हुने रहेछ । त्यो आमाको ममता म मा पनि जाग्यो र सबै छोडेर घर सम्हाले । ३० वर्षे अपा¨ता भएकी छोरीले अहिले सम्म ‘आमा’ नभनेको पीडा र तिनै अनुभवलाई पुस्तकमा समेटेकी हुँ । बिवाह गरेको ३५ वर्ष भयो तर, हामी कुनैपनि सार्वजनिक कार्यक्रममा यसरी एउटै मञ्चमा बसेका थिएनौं । आज हामीलाई बेहुला बेहुली जस्तो बनाएर यसरी एउटै मञ्चमा राखिदिनु भएकोले अतिकति भावुक पनि भएँ ।’
कार्यक्रमका बिशेष अथिति रहेका परराष्ट्र मन्त्री ज्ञवालीले लालटिनको उज्यालोले हाम्रो त्याग, हामीले भोगेका अफ्ठ्यारा र असहज परिस्थितिको जस्ताको तस्तै चित्रण गरेको बताए । ‘पुस्तकको बारेमा म धेरै केही भन्न सक्दिन । आफ्नै श्रीमतीले लेखेको पुस्तकबारे बोल्दा बिराचात्मक भन्दा पनि बढि भावनात्मक भइन्छ कि । लामो समयदेखि अफ्ठेरो र असहज कालखण्ड गुजार्दै यहाँ सम्म आइपुगेका छौं । यो सरस्वती ज्ञवालीको मात्रै कथा होइन आम नेपाली महिलाको कथा हो । जसले बिभेद र अन्यायका निम्ती लड्यो, स्वतन्त्रता र समानताका लागि बिद्रोह ग¥यो । उनले पुस्तकमा आफ्ना भोगाइ लेखेकी छिन् । सबैलाई पुस्तक एक पटक पढिदिन आग्रह गर्दछु ।’
आत्मकथामा नेपाली राजनीति, क्रान्तिका बेला महिलाले भोगेका पीडालाई समावेश गरिएकोले एउटा इतिहासलाई उजागर गरेको समालोचक रस्मी भट्टले बताइन् । ‘अत्यन्त सरल र शिष्ट भाषामा लखिएको यो कृतिले नेपाली साहित्यमा दरिलो इटा थप्ने मात्र काम गरेको छैन । यो एउटा उत्कृष्ट साहित्यिक कृतिका साथै राजनीतिक दस्तावेज पनि बनेको छ’ उनले भनिन् ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष सकुन ज्ञवाली लगायत नेपाली समुदायको बिभिन्न संघ संस्थाका प्रतिनिधिको उलेख्य सहभागिता थियो ।