समाचार

यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीले आफूमाथि बलत्कार गरेको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा गरेका छन् ।

उनले मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराको राजिनामा पत्रमा उल्लेख छ ।

उनको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भनी उल्लेख गरिएको छ ।

यसअघि मंगलबार नै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पनि राजीनामा दिई अनुसन्धानमा सघाउन सुझाव दिएको थियो ।

सोमबार एकाएक उनीमाथि बलत्कारको आरोप लागेपछि निकै हतास देखिएका महराले पनि मंगलबार राजिनामा गरेका हुन् ।

उनी दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । संसद सचिवालको स्वास्थ्य विभागमा काजमा खटिएकी एक कर्मचारीले उनीमाथि यौन दूव्यवहारको आरोप लगाएकी छिन् ।

ती कर्मचारीसँग महराको विगत २०४७ साल देखि नै चिनजान रहेको समेत महिलाले स्वयमः स्वीकार गरेकी छिन् । महरा आइतबार राति आफ्नो कोठामा आएर बलात्कार गरेको उनको आरोप छ ।

यद्दपी उनले अझै प्रहरीमा भने उजुरी दिएकी छैनन् । तर, तिब्र सामाजिक दवाव झेल्न नसकेपछि महराले भने राजिनामा गरेका छन् ।

करीव ५० वर्षदेखि निरन्तर राजनीतिमा अडिग यी नेतामाथिको आरोप धेरैले भने अझै पनि कुनै चलचित्रको एक कथा जस्तै मानिरहेका छन् ।

महरा यौनकाण्डमा परी पदमा रहेकै अवस्थामा राजिनामा गर्ने पहिलो सबैभन्दा उच्च पदका व्यक्ति हुन् ।