समाचार

अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

फाईल फोटो

प्रभात भट्टराई
अमेरिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ ।
ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका छैनन् । रिपब्लिकन स्रोत उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार आफ्नै दलका अधिकांश प्रभावशाली नेताहरु ट्रम्प र युक्रेन प्रकरणमा थप प्रमाणको प्रतीक्षामा छन् ।
अर्कोतिर ट्रम्प विरोधीहरु थप गोलबद्ध हुन थालेका छन् । उनकै प्रशासनमा काम गरेका पूर्व कर्मचारीले पनि पूर्व राष्ट्रपति रिचार्ड निक्सनको अवस्थाभन्दा अहिले ट्रम्प थप अप्ठ्यारोमा रहेको भन्दै टिप्पणी गर्न थालेका छन् ।
सप्ताहन्तमा केही सुनसान रहेको नयाँ घटना र मोडले सोमबार देखि फेरि तीव्रता पाएको छ । सोमबारको सबैभन्दा ठूलो स्कूपका रुपमा ट्रम्पले युक्रेनी समकक्षीलाई फोन गर्दाको साक्षी विदेशमन्त्री माइक पोम्पेओ पनि रहेको तथ्य वालस्ट्रिट जर्नलले प्रकाशित गरेको छ । पोम्पेओले गत साता मात्र एबीसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्ताबारे आफूलाई केही थाहा नभएको र सञ्चारमाध्यमबाट जानकारी पाएको बताएका थिए । टेलिफोनको साक्षी पोम्पेओ रहेको तथ्य वालस्ट्रिट जर्नलले प्रकाशित गरेसँगै सीएनएनले समेत आफ्नो स्रोतबाट पुष्टि गरेको छ ।
यति मात्र होइन ट्रम्पले अष्ट्रेलियन नेतालाई मुलर अनुसन्धानको आधार खोजीमा आफ्ना महान्यायधिवक्ता विलियम बारलाई सघाउन अनुरोध गरेको अर्को स्टोरी पनि सोमबार नै न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । एकपछि अर्को यस्ता भ्वाङ खुल्दै जाँदा ट्रम्प प्रशासन भने एकपछि अर्को ‘कन्स्पिरेसी थ्योरी’ अनुसारका प्रतिप्रचारमा व्यस्त छ । यतिसम्मकी आफूलाई महाअभियोग लगाएर हटाए अमेरिकामा गृहयुद्ध हुनेसम्मका ट्विट ट्रम्पले रिट्विट गरेका छन् । यस्तै आफू पदबाट हट्नुपर्ने कहिले सेयर बजार क्र्यास हुने त कहिले अर्थतन्त्र रसातलमा जाने जस्ता ट्विट गरेर ट्रम्पले अमेरिकी जनतालाई ‘ब्ल्याकमेलिङ’ पनि गरिरहेका छन् ।
ट्रम्पले युक्रेनी समकक्षीलाई अमेरिकाले दिने सैन्य सहयोगको बदलामा पूर्व उपराष्ट्रपति एवम् डेमोक्रेटिक नेता जो बाइडेनलाई अनुसन्धान गर्नुपर्ने शर्त राखेका थिए । ट्रम्प पक्षले भ्रष्टाचार निवारणका लागि उक्त प्रस्ताव राखेको र युक्रेनलाई कुनै दबाब नदिएको बताउँदै आएका छन् । तर, ह्वाइट हाउसले नै सार्वजनिक गरेको उनीहरुको संवादको विवरणमा ट्रम्पले प्रष्टरुपमा आफूलाई ‘सहयोग’ गर्न भनेका छन् । र, उक्त सहयोगस्वरुप बायडेनको छवि धमिल्याउने गरी अनुसन्धान थाल्नुपर्ने उल्लेख छ ।
युक्रेनका एक सरकारी अधिकारीलाई बाइडेनले उपराष्ट्रपति हुँदा भ्रष्टाचारको आरोपमा विश्व बैंक, युरोपेनी युनियन लगायत सबै दाताहरुले पदबाट हटाउन भनेका थिए । पश्चिमा आवाजको प्रतिनिधित्व गर्दै युक्रेनी सरकारलाई उक्त सूचना बाइडेनले दिएका थिए । ट्रम्प पक्षधरले बाइडेनको यही कदमलाई भ्रष्टाचारको आरोप लगाउँदै आएका छन् । तर, यसमा बाइडेनले गल्ती गरेको कुनै कानूनी आधार फेला परेको छैन ।
बाइडेन अहिले डेमोक्रेटिक राष्ट्रपतीय प्रत्यासीमा अग्रस्थानमा छन् । र, उनको लोकप्रियता ट्रम्पको भन्दा उच्च देखिएको छ । सोही कारण ट्रम्पले राजनीतिक प्रतिस्पर्धीलाई विदेशी गुहारेर तह लगाउने खोजेको मुख्य आरोप संसद्ले लगाएको छ । महाअभियोगका लागि उनीमाथिको सबैभन्दा बलियो आरोप यही हुनेछ किनभने अमेरिकामा आफ्नो राजनीतिक फाइदाका लागि विदेशी गुहार्नु गैरकानूनी हो ।
ट्रम्पविरुद्धको महाअभियोग हाउसबाट पारित भए सिनेटमा आफूले प्रस्तुत गर्नुको विकल्प नहुने मेजोरिटी नेता एवम् रिपब्लिकन सिनेटर मिच म्याकोनेलले आइतबार बताएका छन् । हाउसबाट पारित महाअभियोग प्रस्ताव सिनेटमा छिर्न दिने–नदिने अधिकार मेजोरिटी नेताको हातमा रहने गरेको छ । सिनेटमा यो प्रस्ताव छिरेमा त्यहाँ विस्तृत अनुसन्धान हुन्छ र अन्त्यमा दुई तिहाई सिनेटरले प्रस्तावको पक्षमा मतदान गरे राष्ट्रपति पदमुक्त हुन्छन् ।
निवर्तमान रिपब्लिकन सिनेटर जेफ फ्लेकले सोमबार नै आफ्ना पूर्व सहकर्मीहरुलाई सम्बोधन गर्दै यस पटक अन्तरआत्माको आवाज नमार्न सुझाव दिएका छन् । उनले ट्रम्पलाई पदच्यूत गर्न ३५ बढी रिपब्लिकन सिनेटरले भोट हाल्ने भविष्यवाणीसमेत गरेका छन् । अहिले सिनेटमा डेमोक्र्याटसँग ४७ भोट छ । २० जना रिपब्लिकन सिनेटरले भोट दिएमा ट्रम्प पदमुक्त हुनेछन् ।
युक्रेन प्रकरण सतहमा आएसँगै महाअभियोगलाई समर्थन गर्ने सर्वसाधारणको संख्या ह्वात्तै बढेको छ । सीबीएस न्यूजको सोमबार प्रकाशित सर्वेक्षणअनुसार ५५ प्रतिशत अमेरिकी ट्रम्पविरुद्ध सुरु भएको महाअभियोग अनुसन्धान अघि बढाउनु पर्ने बताएका छन् भने ४५ विपक्षमा छन् । यस्तै सीएनएनको सर्वेक्षणमा ४७ प्रतिशत अमेरिकीले ट्रम्पलाई पदच्यूत गर्नुपर्ने बताएका छन् । रसियन अनुसन्धान चर्र्किएको मौसम गत मेमा यो संख्या ४१ प्रतिशत मात्र थियो ।