समाचार

सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद

काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि यौन दूव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफ्नो बयान फेर्दै महराबाट आफूमाथि कुनै दूव्र्यवहार नभएको बताएकी छिन् ।

तर, उनको फेरिएको बयान आउनु अगाडी नै सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा गरेका कारण उनको पद भने गएको छ ।

उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले महराको राजिनामा स्वीकृत गरेकी छिन् । यससँगै अब सभामुखको पद खाली भएको छ ।

महरासँग करीव साढे दुई दशकदेखि चिनजान रहेकी रोशनीले आइतबार सभामुखले बलात्कार गरेको भन्दै संचारमाध्यम गुहारेकी थिइन् ।

तर, मंगलबार नै उनले बोली फेर्दै बुबा जस्तो मानिसले आफूमाथि त्यस्तो गर्न नसक्ने भन्दै बयान फेरेकी छिन् । उनले प्रहरीका महराविरुद्ध कुनै उजुरी दर्ता गरेकी छैनन् ।

उल्टो आफु मानसिक बिरामी भएको भन्दै प्रहरीलाई जानकारी गराएकी छिन् । उनले यसअघि पनि पटक पटक मानसिक रोगको औषधि खाएकी थिइन् ।