रोचक खवर

महराले फिर्ता गरे सरकारी गाडी, डेरा सर्ने तयारी

काठमाडौं । आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा गरेका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गर्न थालेका छन् ।

उनले सभामुखलाई सरकारले उपलब्ध गराएको सवारी साधनमध्ये एक गाडी फिर्ता गरेका छन् । संसद सचिवालयका अनुसार महरालाई तीन वटा गाडी सरकारले दिएको छ ।

त्यसमध्ये झण्डावाल गाडी फिर्ता भएको हो । उनलाई संसद सचिवालयले उपलब्ध गराएको सभामुखको एक गाडी, सचिवालयकै अर्को गाडी निजी प्रयोजनमा र औपचारिक कार्यक्रममा जान गृह मन्त्रालयले थप एक गरी तीन वटा सवारी साधनको सुविधा उपलब्ध थियो ।

बिहीबार सम्म एउटा गाडी फिर्ता भएको र शुक्रबार थप दुई गाडी फिर्ता गर्ने जानकारी महराले गराएका छन् । उता, सरकारी निवास समेत छाडेर निजी डेरा सर्ने तयारी समेत महराले गरेका छन् ।

महरा स्रोतका अनुसार उनले निजी डेराका लागि घर खोजिरहेका छन् । सभामुखको हैसियतमा उनलाई राज्यले आवास सुविधा समेत दिएको थियो ।

महरामाथि आरोप लगाउने कर्मचारीले आरोप फिर्ता लिँदै महरा निर्दोष रहेको बताए पनि उनले राजिनामा गरिसकेका कारण अब उनको सुविधा फिर्ता हुन लागेको हो ।