डायस्पोरा

न्यूयोर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक सुभारम्भ

न्यूयोर्क । अमेरिकामा नेपालीहरुले प्रवद्र्धन गरेको पहिलो सामुदायीक बैंक एभरेष्ट क्रेडिट युनियनको शनिबार (अक्टुबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यूयोर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फूलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले संयुक्त रूपमा रिबन काटेर संस्थाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, प्रतिनिधी एवं सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

संस्थाका व्यवस्थापक सुदर्शन कडरियाले ‘विक डे’ मा दैनिक विहान साढे ९ बजे देखि साँझ ५ बजेसम्म सेवा दिने जानकारी दिए । साथै छिटै एटिएम सेवा सुरु गरि २४ सै घण्टा सेवा उपलब्ध गराउने उनले बताए । संस्थामा ५० डलरले खाता खोल्न सकिने जनाइएको छ । त्यसमध्ये आधा रकम संस्थाको सदस्यता शुल्क एवं आधा खाता ‘मेन्टेन’ शुल्कको रुपमा रहनेछ ।

संस्थाका प्रमुख व्यवस्थापक रिजालले तीन बर्ष देखिको निरन्तर प्रयास पछि संस्थाको मुख्यालय एवं पहिलो शाखा स्थापना गर्न सफल भएको बताए । ‘प्रवद्र्धकहरुले संस्था यो अवस्थासम्म ल्याउन अनवरत मेहनत गर्नुभयो, अब भने यो अमेरिकामा बस्ने सबै नेपालीको साझा संस्था बनेको छ, उनले भने– यसबाट यहाँ रहेका नेपाली व्यक्ति एवं संघसंस्थाले भरपुर फाइदा लिन सक्नुपर्छ ।’

अध्यक्ष डिल्ली भट्टले संस्थाले अब नेपालीको बाक्लो उपस्थिती भएका टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, मासाचुसेट्स लगायत राज्यहरुमा शाखा विस्तारलाई तीब्रता दिने बताए । एक बर्ष भित्र एक हजार सदस्यता विस्तार गरिसक्ने उध्येश्य लिएको उनले जानकारी दिए । यस्तै संस्थाले तीन बर्ष भित्र पाँच हजार सदस्य संख्या पुर्याउने लक्ष लिएको छ ।

संस्थामा बालबालीका बचत लगायतका भविश्यमूखी कार्यक्रमहरु पनि रहेको अध्यक्ष भट्टले जानकारी दिए । ‘कतिपयमा संस्थाले गरेको प्रगतिको लाभ प्रबद्र्धकहरुले मात्र लिन्छन् भन्ने बुझाइ रहेको समेत पाइएको छ, उनले भने– तर त्यसो होइन, अहिले आएर लगानी गर्ने हरेक सदस्यले प्रवद्र्धक बराबरकै सुविधा पाउने प्रष्ट गर्न चाहन्छौँ ।’ प्रतिशत शेयर २५ डलरका दरले संस्थाको शेयरमा लगानी गर्न पाइने उनले जानकारी दिए ।

अमेरिकामा सामूदायीक बैंकहरुको संघीय नियामक नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए)ले सन् २०१८ को पहिलो क्रेडिट युनियनको रुपमा गत बर्ष अगष्टमा एभरेष्टलाई लाइसेन्स दिएको थियो । कार्यालयका लागि उपयुक्त स्थान र भवनको खोजी, तयारी लगायतका व्यवस्थापकीय गृहकार्य सम्पन्न गरि संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।
अमेरिकामा क्रेडिट युनियनहरुले आफ्ना सदस्य एवं शेयरधनीलाई बिभिन्न प्रकारका वित्तिय सुविधा प्रदान गर्छन् । बिभिन्न देशबाट आएका आप्रबासीहरुले आफ्नो जनसंख्या एवं आर्थिक अवस्था सुधार हुँदै जाँदा अमेरिकामा क्रेडिट युनियन सञ्चालनमा ल्याउने गरेका छन् । यसै क्रममा नेपालीहरुले पहिलो क्रेडिट युनियनको रुपमा एभरेष्ट सञ्चालनको अनुमति पाएका हुन् ।

संस्थाले नियमित शेयर बिक्री, शेयर ड्राफ्ट एवं प्रमाणपत्र जारी, बिभिन्न किसिमका कर्जा प्रवाह, मनी अर्डर, क्रेडिट कार्ड जारी, निक्षेप संकलन लगायतका कारोबार सुरु गर्ने अनुमति पाएको छ ।
पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने लक्ष लिएको सञ्चालक समितिका अध्यक्ष भट्टको भनाइ छ । कम्युनिटी बैंकको रुपमा क्रेडिट युनियनहरु गैर नाफा मुलक रहने र कर छुट समेत पाउने भएका कारण आफुहरुले निक्षेपकर्तालाई धेरै ब्याज र ऋणीलाई सस्तोमा कर्जा प्रवाह गर्ने उनको भनाइ छ ।