समाचार

थाईल्याण्डमा एक झरनामा खसेर ६ हात्तीको एउटै चिहान

थाईल्यान्डस्थित एक झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित ६ वटा जङ्गली हात्तीको मृत्यु भएको छ।

काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो । त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए ।

ती मध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ।

हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दु:खद घटना भएका थिए । सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए । त्यो घटनाको देशका सञ्चार माध्यमहरूले ठूलो चर्चा गरेका थिए।

झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो ।

तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे।

उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले हेरिरहेको अधिकारिहरुले संचार माध्यमहरुलाई बताएका छन् ।  

वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठुलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ।

उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक् । हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्।

थाईल्यान्डमा झन्डै सात हजार वटा एशियाली हात्तीहरु छन् । ती मध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।

श्रोत : बिबिसि नेपाली