समाचार

अमेरिकामा धुमधामले दशैं मनाइँदै

कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका

सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको सत्य नारायण मन्दिरमा साना नानीहरुको ठूलो भेला लागेको थियो । कन्या पूजामा इन्डियन र नेपालीहरुले साना नानीहरुलाई टिका लगाएर पूजा गरेर खानेकुरा र बिभिन्न उपहारहरु दान गरेका थिए ।

एक सातासम्म बिदा लिएर नेपालमै जसरी धुमधामले दशै मनाउने योजना भएको सुनाउँदै थिइन् वुडसाइडस्थित दिब्यधाम मन्दिरमा दर्शन गर्न आएकी रीता श्रेष्ठ प्रधान । ‘अस्टमीको दिन देवीलाई चुनरी चढाएर दर्शन गर्न छोरा, छोरी, श्रीमान सबै मन्दिर आएका हौं’ उनले भनिन्, ‘मेरो ठूलो छोरी नर्थ क्यारोलिनामा बस्ने भएकाले यसपाली उतै गएर दशैँ मनाउँछौं ।’ आजैदेखि घरमा बिभिन्न नेवारी परिकार बनाएर परिवारसंगै रमाइलो गर्नेर्छौ । नवमीको दिन बिहानै आफ्नो गाडी पुजा गरेर, मन्दिरमा जमरा चढाएर दर्शन गर्छौ र दशैंको दिन टिका लगाएर नर्थ क्यारोलिना जान्छौं ।

उनी मात्र होइन अमेरिकामा बस्ने नेपालीहरुले समय ब्यवस्थापन गरेर दशैँको दिन छुट्टि मिलाएरै दशैँ मनाउँदै आएका छन् । पेन्सिलभेनियाबाट दशैं मनाउनका लागि न्यूयोर्क आइपुगेका विष्णु छन्त्याल भन्छन्, परदेशमा भए पनि वर्ष दिनको चाड त मनाउनु प¥यो नि । दुई दिनको छुट्टि मिलाएर आफन्त भेट्न आँए । भोली टिका लगाएर दिनभर तास खेल्ने, खाने प्लान छ ।’

दशैमा खसीको मासु र चिउरा खान मन पर्ने भएकाले फार्ममै गएर खसी किनेर ल्याउनेहरु पनि भेटिए । परदेशमै भएपनि नेपालीहरुले आ–आफ्नो तरिकाले दशैं मनाइरहेका छन् । नेपालमा सोमबार बिजया दशमी मनाइसकिए पनि अमेरिकामा यसपाली मंगलबार दशैँ मनाइदैँछ । अमेरिकामा मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयलाई टिकाको उत्तम साइत मानिएको छ । नेपालीको महान् चाड दशैँ र नवरात्रमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ । नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरेपछि दशौं दिन देवीको प्रसाद र आर्शिवाद स्वरुप टीका र जमरा लगाइन्छ । नकारात्मक शक्तिहरुलाई परास्त गरेर सकारात्मक उर्जा प्राप्त गर्ने अवसरका रुपमा यो पर्वलाई लिइन्छ ।