बिचार

दशैं : चित्त नबुझेको आशिर्वाद

पुरुषोत्तम लम्साल / भर्जिनिया

ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे 

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने 

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते 

विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे 

म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरै पछिसम्म मलाई यो आशिर्वादको अर्थ र महत्व थाहा थिएन । मान्यजनले दिएको ठूलै आशीष होला र हो भन्ने लाग्थ्यो । आफूभन्दा ठूलाले दिएको आशिर्वादमाथि प्रश्न उठाउने ताकत पनि म बबुरोको कहाँ थियो र ? फेरि आशिर्वचनविरुद्ध नै विद्रोह वा असन्तुष्टी ओकलेर मलाई कसैको श्राप लिनु पनि त थिएन । त्यसैले माथिको श्लोकको अर्थ जान्ने भएपछि मनमनै हाँसेरै पनि आशीष ग्रहण गर्दथे । आज भने प्रश्न नै उठाउँदैछु ।

के हामीले लिइरहेको वा हामीलाई दिईंदै आएको बडादशैंको आशिर्वचन सही छ ? महाभारत र रामायणकालीन पात्रहरुको बाँकि दुर्गुणलाई चटक्कै बिर्सिएर गुणहरु मात्र समेटिएको आशिषको अर्को विकल्प खोज्नु शास्त्रको प्रतिकूल हुन्छ ? कि मै मात्र अराजक भएको हो ? के मैले माथिको श्लोकको अंशको स्थानमा अरु नै आशिष दिन आग्रह गर्नसक्छु ? आजको बसाईमा म धर्मविरुद्ध होइन, संस्कृतिविरुद्ध पनि होइन, रीति वा परम्पराविरुद्ध होइन त्यसभित्रको ज्यादै ज्यादै सानो अंशमा सीमित हुन्छु । 

आशिषलाई शब्दकोषमा जे लेखे पनि म त्यसलाई मेरा लागि गरिएको कामनाको अर्थमा बुझ्छु । विशेषगरी दशैंमा पुरुषका लागि तय गरिएको माथि उल्लिखित आशिषमा प्रयुक्त पात्र र तिनका प्रवृत्तिका केही पाटाबारे जानकार भएपछि मलाई आशिषमै सन्देह पैदा भयो । किनकि, प्रयुक्त पात्रहरु सत्पात्र वा सद्गुणसम्पन्न ठानिएका होलान् तर ती सबै दोषरहित छैनन् भन्ने मेरो बुझाई हो ।

अब पात्रको अवगुण, अपगाल वा दोषलाई पीठ फर्काएर गुणलाई मात्र लिनको लागि आशिष दिइएको मान्ने हो भने पनि मभित्रको सन्देहको निवारण चाँहि हुँदैन । अब सन्देह नै भएपछि प्रश्न उठाउने अधिकार सुरक्षित हुन्छ कि हुँदैन ?

ब्यासको महाभारत र वाल्मिकीको रामायण पूर्वीय संस्कृतिका त्यस्ता ग्रन्थ हुन् जसले हिन्दु धर्म र दर्शनलाई नै दिशानिर्देश गर्ने सामर्थ राख्दछन् वा राखिरहेका छन् । जति कालखण्डमा ज–जसले तयार गरेका भए पनि ती कृति अद्भूत छन् । तिनका पटकथामा जादू भेटिन्छ । पात्रको चरित्र उठान, उत्कर्ष र अन्त्यमा विष्मयकारी सम्बन्धहरु जोडिएका छन् । मानव कल्याणहेतु सृजना गरिएका हरेक पात्र, विषय र घटनामा फरक फरक सन्देश सन्निहित छ ।

पछिल्ला वर्षमा मैले महाभारत र यससँग सम्बन्धित अन्य केही सामाग्री कतिपटक दोहोर्याएँ आफैंलाई हेक्का छैन । तर कतिसम्म भन्नसक्ने भएको छु भने महाभारतकालीन पात्रका गुणको मात्र आधारमा तयार गरेर मलाई मेरा बा, हजुरबा, सानो बा, ठूलो बालगायतका मान्यजनले दिनुभएका आशिषमै त्रुटी रहेछ । त्रुटी छ भन्ने थाहा भएपछि त्यसलाई ग्रहण गर्न मेरो शर्त मञ्जुर हुन्छ भन्ने लाग्छ ।

ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे 

उदाहरण लिन्छु, श्लोकको पहिलो हरफमा प्रयुक्त चार पात्रको । पात्रहरु छन् द्रोण र उनका पुत्र अश्वस्थामा, दशरथ र राधव । पहिलो पात्र द्रोण हुन् । आयुर्वेदका ज्ञाता ऋषी भरद्वाजका पुत्र द्रोण परशुरामका सर्वकालीन श्रेष्ठ शिष्यमध्ये एक थिए । परशुरामबाट यावत् शस्त्रअस्त्रको विधि र ज्ञान हासिल गरेपछि भीष्म पितामहमार्फत उनी हस्तिनापुरका राजकुमारहरुको शिक्षकको रुपमा नियुक्त भए । तर उनी पक्षपाती थिए । आफूलाई मनपरेको शिष्य अर्जुनलाई श्रेष्ठ देखाउन उनले गरेका केही कर्म कुकर्मको रुपमा पाउँछु म । हो नै त्यही । जस्तै एकलव्य जस्ता दक्ष धनुर्धरको बुढीऔंला गुरुदक्षिणाको रुपमा लिनु, कर्ण जस्ता क्षमतावान निशानेबाजलाई जातको हवाला दिएर बहिष्करण गर्नु र कर्णकै दाजुको हत्याको साक्षी बस्नु । (यो छोटो आलेखमा कर्ण को हुन् भन्ने बारेमा जान चाहन्न । किनकि, कर्णलाई निकाल्दा महाभारतको नै स्वाद आउँदैन भन्ने सबैलाई थाहा छ) । श्लोकमार्फत उनका पुत्र अश्वस्थामाको जस्तो आयु होस् भन्ने कामना गरिएको छ । किनकि, उनी अष्टचिरञ्जीवीमध्ये एक पनि हुन् । अजरताको अमरताको कामना स्वभाविक पनि होला । अश्वस्थामा वीर, साहसी योद्धा, शास्त्रको ज्ञानी भए पनि उनका केही कर्मले उनीप्रति नै सम्मानभाव जाग्दैन र आशिष ग्रहण गर्दा अमिलो मन बनाउँछु । 

 शास्त्र भन्छ, धर्मात्मा, निन्द्रामा भएको व्यक्ति, नशामा चूर भएको व्यक्ति, स्त्री र बालकको हत्या निन्दनीय छ । त्यो अपराध हो । त्यो अमानवीय हो । त्यो आततायी हो । अनि सम्झन्छु, सुतिरहेको समयमा द्रौपदीका पाँच सन्तानको शीर छेदन गर्ने अश्वस्थामालाई शास्त्रले नै अपराधी करार गरिसकेपछि म अपराधीको आयु बोकेर किन हिंडूँ ? शिवकै एक अंशको रुपमा मानिने दिव्य मणीधारी अश्वस्थामाले प्रयोग गरेको अस्त्रबाट उत्तरराको गर्भको शिशुको हत्या प्रयास भयो । दैवी अस्त्र चलाउन जान्ने तर त्यसको उपचार नजान्ने अवगुण पनि त छँदैछ । अझ बढी हामी महाभारतमा कौरव पक्षलाई अन्यायको पर्यायको रुपमा ब्याख्या गर्ने अनि त्यसका एघार सेनापतिमध्येका मुख्य सेनापतिलाई आदर्श मान्नुपर्ने ? अलि मन परेन । अझ बढी उनी श्रापकै कारण हजारौं वर्ष भड्किएर हिंड्नुपरेको भन्ने पनि छ । यति भइसकेपछि म कसरी अश्वस्थामाको आयुको कामना गर्छु ?

दशरथको बारेमा पनि मलाई केही असन्तुष्टी छ । दशरथको श्री राजा हुनुमा बढी हो वा रामको पिता हुनुमा बढी हो ? वा मनुले गरेको नारायणको तपस्याबाट प्राप्त वरदानमा ? त्रेतायुगकालीन अयोध्यामा द्वेष र क्लेषरहित राज्य सञ्चालन गर्नुमात्रले आशिषमा नाम थोपरिएको हो कि ? रामायण बुन्ने बाल्मिकीको पटकथा लेखनशैली अपूर्व नहुँदो हो त दशरथको संयोग र वियोगका तस्वीर यतिविधि आउँदैनथ्यो । तर, दृष्टिविहीन मातापिताको सेवामा रहेका श्रवणकुमारको हत्याका दोषी पनि त हुन् राजा दशरथ । होइनन् र ?  हो भने मलाई एउटा हत्याराको जस्तो श्री किन चाहियो ? कि राजाले भूलवश हत्या गरेकाले उनलार्य सबै छुट दिइएको हो ? अनि तिनै श्रवणकुमारका मातापिताको श्रापका कारण उनले पनि पुत्रवियोगमा प्राण अन्त गर्नपरेको भनेर त धेरै ठाउँमा लेखिएकै छ । अझ बढी नीतिमा निपूर्ण हुँदा हुँदै नारीमोहका लागि पनि त दशरथको कीर्तिमाथि धब्बा लागकै छ । अनि बा हुँदाहुँदै कसरी म दशरथको जस्तो श्री स्वीकार गरुँ ?

रामले जस्तो शत्रुको क्षय गर्नु भनिन्छ । ठीकै हो । आदर्शपुरुष हुन् । विष्णुका सातौं अवतार हुन् । दशरथका पुत्र हुन् । सीताका पति हुन् । रावणको आतंक निवारण गरकै हुन् । तर, दोस्रो व्यक्तिसँग युद्ध गरिरहेको बालीलाई छलपूर्वक मारेर रामले कुन युद्धको पाठ सिकाए सिकाए ? अन्यौलमा छु । धेरैले रामलाई सुग्रिवसँगको मित्रताको बारेमा आदर्श मान्छन् तर म मान्दिन ।

किनभने बालीको हत्यामा सुग्रिवको राज्यमोह वा सत्तामोह गाँसिएको थियो जसलाई छलपूर्वक रामले पूरा गराइदिए । किनकि बाली आफैं पटकपटक रावणलाई समेत पराजित गरिसकेका बलशाली थिए । राज्य उपहारवापत् सुग्रिवले सीताको खोजीका लागि रामलाई वानर सेना प्रदान गरेका थिए । र, यसलाई हनुमान गाथाको अर्को एउटा प्रसंगले पनि बल दिन्छ । जस्तो, सुग्रिवले बालीको हत्यापछि राजपाठ सम्हालेपछि विभिषण पनि धर्मको आवरणमा आएका हुन् । यो कुरा सुग्रिवको राज्यारोहणको सन्दर्भमा प्रष्टसँग बुझ्न सकिन्छ । त्यसैले मित्रताका लागि बरु सुदामा र कृष्णको उदाहरण ठीक होला राम र सुग्रिवको स्वार्थपरस्त मित्रतामै शंका छ । तर धैर्यता, शान्त र शत्रुलाई परास्त गर्न शत्रुकै घरबाट मित्रता गाँस्नुपर्छ भनेको भए चाँहि म कूटनीतिक रामलाई झन् ठूलो आदर्श मानेर आशिष ग्रहण गर्दथें । उसैपनि विभिषणको माध्यमबाट रावणको बध गराउनुपर्ने बाध्यता रामलाई थिएन, त्यो त वाल्मिकीले धर्ममार्ग वा सत्मार्गलाई अभिव्यक्ति दिन कथामा अर्को गज्जबको कथा बुनेका हुन् । मेरो भलो चिताएर मलाई दिइएको आशिर्वादमै त्रुटी ? सम्झेर ल्याउँदा मन खिन्न हुन्छ । 

मेरो आग्रह : जुन पात्रमा मैले दोष देखेको छु, त्यही पात्रलाई आधार बनाएर दिइएको आशिषमा मेरो चित्त बुझेन । जसलाई मन पर्छ ग्रहण गरे हुन्छ , मलाई चित्त बुझेन र मैले सुधार गरौं वा सुधार गरेर ग्रहण गरौं भनेको मात्र हूँ । अब दोस्रो पंक्तिमा प्रवेश गर्छु । 

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने 

एक महान सम्राट । वंशावलीअनुसार भगवान विष्णुका सातौं पुस्ता (विष्णु, ब्रम्हा, अत्रि, चन्द्रमा, बुध, पुरुरवा, आयु , नहुष) का दरसन्तान । ब्रम्हहत्याका अभियोगी इन्द्रको अनुपस्थतिमा एक हजार वर्षका लागि स्वर्गको कार्यवाहक देवराज बनेका । अर्थात्, इन्द्रको विकल्पको रुपमा चुनिएका चन्द्रवंशी राजा । तर त्यहींबाट अहंकार पालेका, इन्द्रको अनुपस्थितिमा गैरजिम्मेवार शासन चलाएको आरोप लागेका, इन्द्रको आशनमै बसेका मात्र होइन इन्द्रपत्नी शची (इन्द्राणी) माथि नै नजर डुलाएका । सप्तऋषीले बोकको पालकीमा बसेर आए मात्र आफूले अपनाउन सक्ने शचीको शर्तपछिका किस्सा सुनेको थिएँ । यही सन्दर्भमा अगस्त्य ऋषीको शीरमा नहुषले लात्ता हानेको र ऋषीले ‘अहंकारले तेरो मति भ्रष्ट गरेको छ, तँ मान्छे हुनसमेत लायक छैन’ भनेर अजिंगर भएस् भनेर सर्पयोनीको श्राप दिएको पनि त कथा छ ।  त्यसो भए हे पिताजी !, मलाई पनि ऐश्वर्य कमाएर परस्त्रीगमनतिर आकर्षित गर्न खोजिएको त होइन ? म पनि नहुष राजा झैं कामान्ध हुन पर्ने हो ? व्यक्तिको दोषलाई बिर्सिएर गुणको मात्र गान गाइएको आशिष अलि हजम भएन । होइन भने अहंकारको दुष्प्रभावका कारण पतन भएका ऐश्वर्यम् नहुषे आशिर्वचनमा सुधार गरिपाउँ ।

(माफ पाउँ ! यो बेला म पूर्व माओवादी केन्द्रका उर्फ वर्तमान नेकपाका नेता, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई झल्झली सम्भीरहेको छु)

अब पवनको गतिसँग मेरो गुनासो छैन । समयले पनि अब सुस्त हुनु भनेको सबै कुरामा पछि पर्नु हो भन्छ । अणु र परमाणुदेखि सुक्ष्मभन्दा सुक्ष्म कण पराकणको विकास भइसकेको विज्ञान र प्रविधिनिर्देशित जमानामा जो अल्छी भो वा जो ढिलो भो त्यो सकियो । अर्थात्, पछि पर्यो । त्यसैगरी हावा वा पवनको गतिबारे जो जति जानकार हुन्छ त्यति नै वातावरण र वस्तुस्थितिको जानकारी लिएर आफ्नो दिशा चयन गर्न सक्दछ । हामीले सुनेको सोह्र दिशा छन् तर पढेको चार । पूर्व, पश्चिम, उत्तर र दक्षिण । बाँकि बाह्र दिशाको बारेमा पनि जानकारी भएपछि हावाको बेग जता चल्छ त्यतै आफूलाई अनुकूल बनाउन सकिन्छ । अब यसलाई म अन्यथा लिन्न । तर, व्यवहारमा जता हावा चल्छ त्यतै ढल्किनुपर्छ पो भनिएको हो कि भन्ने शंका चाँहि छ । त्यसैले गतिश्च पवने लाई मैले सावधानीपूर्वक ग्रहण गरें ।

महाभारतको शुरुमै भनिएको छ, यो कथा सार्थको, पुरुषार्थको, स्वार्थको हो । अर्थात् सत्तास्वार्थको । यसका एक पात्र हुन् धृतराष्ट्रपुत्र दुर्योधन जो निकै बलशाली छन्, अडानमा कटिवद्ध, प्रतिवद्ध छन् । उनको स्थायी शत्रु पाण्डव हुन् । दुर्योधन जन्मनुअघि नै गान्धारीले गर्भपातको प्रयास गर्दागर्दै पनि तुहिएको गर्भबाट कौरवको अस्तित्व देखिनुमा व्यास कारण देखिन्छन् र यहींबाट दुर्योधनको अस्तित्व प्रारम्भ हुन्छ । 

प्रेमको अर्को नाम प्रेम नै हो । तर राजनीतिको अर्को नाम महाभारत पनि हो । र, त्यही महाभारतमा शकुनीको कपट र जाललाई आँखा चिम्लेर व्यवहारिकीकरण गर्ने पात्र हुन् दुर्योधन । अब हामीलाई पढाइएको महाभातमा दुर्योधन भनेको क्रोधी हो, हठी हो, दुष्ट हो, शकुनीको कपटमा चल्ने घमण्डी हो भनिएको छ । अनि आशिषमा चाँहि मानञ्च दुर्योधने रे ! यो विरोधाभाषले आशिषलाई हलुका बनाइरहेको मेरो अनुभूति हो । कर्णसँग मिलेर युवती अपहरण गर्ने पनि दुर्योधन, द्रौपदीलाई निर्वस्त्र बनाएर काखमा राख्न खोज्ने पनि दुर्योधन । अन्तिम समयमा जलबन्ध्याबाट भागेका वीर पनि दुर्योधन । त्यसैले भाईको रुपमा मानिएको हो भने ठीकै छ नत्र यो पनि चित्त बुझिरहेको छैन ।

उसै पनि महाभारतलाई सत्य र असत्यबीचको, धर्म र अधर्मबीचको कथा मानिन्छ । कौरव भनेको असत्य र अधर्मको प्रतिनिधि हो भनेर शिक्षा दिइन्छ । अनि तिनै कौरवका महानायक दुर्योधनको जस्तो मान होस् रे  । असत्य र अधर्मीका महानायकको मान हुन्छ चाँहि कत्रो ? मैले नबुझेको वा मेरो जिज्ञासा यही हो ।

मेरो नजरमा राधेय कर्ण वा कुन्तीपुत्र कर्ण वा सूर्यपुत्र कर्ण जे पनि पनि श्रद्धा र आदर्शका पात्र हुन् । र, म उनलाई पूरा महाभारतमा कृष्णपछिको सबैभन्दा आकर्षक र विशाल पात्र मान्छु । उनको चरित्रमा अनेक ‘ग्ल्यामर’ भेटिन्छ । पूरा ‘करिस्म्याटिक ग्ल्यामर ।’ ज्ञान र वीरताले सज्जित हुँदाहुँदै उनी सधैं अपमानित पात्रको भूमिकामा छन् । यही अपमानले कर्णभित्र एउटा स्थायी ईखको जन्म गराएको छ । सूर्यपुत्र हुँदा हुँदै महाभारतभरी उज्यालोको खोजीमा भौंतारिरहेका पात्र हुन उनी । कुमारी आमा अर्थात् कुन्तीको अवैध गर्भबाट जन्मिए लगत्तै जन्मनासाथ त्यागिएर अधिरथले भेट्टाएपछि शुरु भएको उनको अस्तित्व महाभारतको अन्तसम्म उतारचढावपूर्ण छ । जेष्ठ पाण्डव हुनपर्ने तर कहिल्यै पाण्डवको सगोलमा नपरेका । प्रतिकूल परिस्थितिसँग जुधेर नै श्रेष्ठता हासिल गरेका पात्र हुन् कर्ण । नियति पनि कस्तो भने फरकफरक सन्दर्भमा श्रापित भएका कर्णका सबै श्राप युद्ध मैदानमा अन्तिम समयमा क्रियान्वयन हुनपर्ने । अचम्म नै यही हो ।

अस्त्रविहीन, रथविहीन, असहाय अवस्थामा भएको उनको अन्त मेरो लागि असह्य विषय हो । गुरुको पनि श्राप, धर्तीको पनि श्राप बोकेका कर्णको दानचरित्रको मात्र वर्णन चित्त बुझ्दैन मलाई । कमजोर मनोदशाका दुर्योधनले पाण्डवसँग रिस फेर्नकै लागि अंगराज बनाइएका कर्ण अर्जुन र कर्णलाई कला देखाउने अति ईखका शिकार भएका छन् ।

शारीरिक, आत्मिक र बौद्धिक रुपमा सुन्दर हुँदाहुँदै उनको दानवीर चरित्र नै उनको कमजोरी हो भन्ने कुरा मेरा अग्रजले मलाई किन पढाएनन् ? त्यही कमजोरीको फाइदा इन्द्र र कर्णकी माता कुन्तीले उठाएको हो भनेर अबचाँहि म बुझ्ने भइसकेको छु । अनि म कर्णजस्ता अद्धितीय वीर योद्धाको त्यही कमजोरीलाई आशिष मानेर ग्रहण गरौं ?

कर्ण द्रौपदीको चिरहरणका द्रष्टा र साक्षी दुबै हुन् । र, राजसभामा द्रौपदीलाई वेश्या करार गरेर दुर्योधनको घमण्डको आगोमा घिऊ थप्ने वा हौसला दिने पात्र पनि हुन् 

अभिमन्यूको पीडा सहन नसकेर पीडामुक्त गराउनै सही, कर्णले अभिमन्यूमाथि छुरी चलाए । अर्जुनसँगको बैर वा दुश्मनी वा घृणाका कारण कर्णले अभिमन्यूको बध गर्न चक्कु चलाएका होइनन् भन्ने म बुझ्छु । तर लडाईमा घाइते, निशस्त्र अवस्थामा आफ्नो घेरामा परेको एउटा महान पराक्रमी योद्धामाथि अश्त्र उठाउनु पनि त अपराध नै होला नि होइन ? हो, यहींनेर म कर्णको पराक्रम स्खलित भएको पाउँछु । मित्रताको नाममा एउटा अधर्मी पात्रका खातिर कर्णले पनि अधर्म गरेका छन् भने मलाई मेरा मान्यजनले दिने आशिषमा अधर्मको कण किन स्वीकार गरौं ? यही मेरो प्रश्न हो । 

निःसन्देह कर्ण आफ्नो वचन र प्रतिवद्धतामा अरुभन्दा धेरै माथि छन् । तर आशिषमा दानपात्रोले अरु गाथालाई गौण बनाएको छ । त्यसैले कर्णको दानसँग भन्दा उनको जस्वनका उतारचडावमा उनले गरेको संघर्षसँग म प्रेम गर्छु । अतः हे मान्यजन ! अर्को वर्ष मलाई कर्ण झैं संघर्षशील हुनु भन्दिए हुन्छ ।

अब म सत्यवादी युधिष्ठिरतिर जान्छु । महाभारतमा धर्मलाई केन्द्रमा राख्ने तीन प्रमुख पात्र कृष्ण, बिदुर र युधिष्ठिर छन् । उनी कस्तै विषम परिस्थितिमा पनि शान्त रहने सक्ने वा क्रोधलाई जितेका पात्र हुन् । क्षमाशील हुनु उनको गुण हो, मातृ पितृ गुरुको भक्ति उनको गुण हो । दम्भ र कामलाई उनले जितेका छन् । कूलको मानमर्दन हुन नदिन उनी सचेत छन् । द्धैतवन काण्डबाट दुर्योधनलाई मुक्त गराउन उनको भूमिका थियो । उनी धर्मराज हुन् ।

मेरो मनमा अर्को गम्भीर पाटो छ । युधिष्ठिर जुवाको व्यसनमा लिप्त थिए । उनको यही कमजोरीको फाइदा शकुनीले उठाउँदा हस्तिनापुरको राजसभामा द्रौपदीको चिरहरणको प्रयास भयो । आफ्नो सर्वश्व हारिसकेपछि उनले द्रौपदीलाई नै खालमा राखिदिए । एकछिनलाई मानौं यो कृष्णकै लीला हो, दैवको लीला । तर युधिष्ठिर जुवाको अम्मली नै थिए भन्ने कुरा गुप्तवासताका विराट दरबारमा कंकुको नाममा उनको भूमिकाले पनि त केही भन्छ ।

पूरा महाभारत कथाको ‘ट्विस्ट’ युधिष्ठिरको एउटै महान झुठबाट हुन्छ । अश्वस्थामा र द्रोण एक अर्काका पूरक थिए । दुबै अति शक्तिशाली थिए । अनि यी दुबैको अन्त तीर वा गधा चलाएर मात्र सम्भव थिएन । अनि द्रोणको अन्तविना न युद्धमा कर्णको आगमन सम्भव थियो न महाभारतको अन्त । यस्तो अवस्थामा युधिष्ठिरले ‘अस्वत्थामा हतः इति नरो वा कुञ्जरो वा’ भनिदिनाले द्रोणको हातबाट हतियार खस्यो, धृष्टद्युम्नले निमेषमै उनको शिर छेदन गरिदिए र समग्र महाभारतको नयाँ आयाम खोलियो । 

महाभारतको द्रोणपर्वमा अर्जुनले व्यक्ति गरेको एउटा विचारबाट म एउटा धारणा बताउँछु ।

पंक्ति छः

चिरं स्थास्यति चाकीतिस्त्रैलोेके सचराचरे

रामे बालीवधाद् यद्धदेवं द्रोणे नियातिते 

अर्थात्, हे राजा युधिष्ठीर, रामले लुकेर बालीको हत्या गरे र अपकीर्तिको भागिदार बने । तपाई पनि झुठको साहारामा गुरु द्रोणको हत्याको अपकीर्तिको भागिदार बन्नुभयो ।  

अब भन्नुस मान्यजन थाहा पाउँदा पाउँदै म कसरी युधिष्ठिरको त्यो सत्यवादिता स्वीकार गरौं ? यो त संकट पर्दा तैंले झुठको साहारा लिए हुन्छ भनिएको होइन ? म त्यसै गरौं ?   

बिदुरको नीति, धर्मवादिता र ज्ञानसँग मेरो कुनै गुनासो छैन । प्रश्न पनि छैन र  सन्देह पनि । माथिका तीन शीर्षकमा हस्तिनापुरका प्रधानमन्त्री बिदुरभन्दा शक्तिशाली मेरा लागि भगवान भनिएका कृष्ण पनि छैनन् । बिदुर स्वयम् धर्मराजको अंश थिए, जो पछि युधिष्ठिरमा विलय भए उनको तर्क न्यायको, विधिको र धर्मको पक्षमा थियो । धृतराष्ट्रको पुत्रमोहविरुद्ध सभामा बोल्न सक्ने एक जना बिदुर नै त थिए । धर्मको पक्षमा विद्रोह ओकलेर सभा नै बहिष्कार गर्नसक्ने अरु को थिए ? सभामा भीष्म र द्रोणहरु मूर्तिवत् लाचार भइरहँदा बिदुरले बोलेका हरेक वाक्य न्याय र समानताको पक्षमा देखिन्छ । 

अर्जुनको गाण्डिवभन्दा शक्तिशाली धनुष फ्याँकेर बिदुरले पाण्डव वा धर्मको जीतका लागि बाटो सहज गराइदिएका थिए । सन्दर्भ थियो सभामा दुर्योधनले गरेको अपमानको बदला । उनी युद्धमा संलग्न नहुने घोषणा गर्दै तीर्थाटनमा जानु भनेको पाण्डवको जीतको नयाँ आधार दिनु पनि हो । तर,

तर, एउटा क्षेत्रीय राज्यको प्रधानमन्त्री राज्य संकटमा परेको बेला हतियार त्यागेर तीर्थाटनमा जानु शोभनीय हो ? आफ्नो राज्यको सुरक्षा उनको कर्तव्यभित्र किन परेन ? धर्मभित्र कर्तव्य पर्छ कि पर्दैन ? सही र गलतको अन्तर थाहा हुँदाहुँदै बिदुरले युद्धको सनिन्कट पुगेको राज्यलाई नेतृत्वविहीन बनाएर तीर्थाटनमा गएको चित्त नबुझे पनि ज्ञान, नीति, र धर्मका पक्षमा उनको अडानका कारण आशिषलाई सहर्ष ग्रहण गर्छु ।