समाचार

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो ।

सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकले उल्लेख गरेको छ । आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा धेरै आर्थिक वृद्धि बंगलादेश र त्यसपछि नेपालले गर्ने भएका छन् ।

विवरण अनुसार सन् २०१९ पछिका वर्षहरुमा भने क्रमशः आर्थिक वृद्धिदर कम हुन थाल्नेछ । सन् २०२० मा ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा कम आर्थिक वृद्धि अफगानिस्तान, श्रीलंका र पाकिस्तानमा हुने भएको छ ।

अफगानिस्तानमा २.५, श्रीलंकामा २.७ र पाकिस्तानमा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरिएको हो ।

दक्षिण एसियामा समग्रमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ । नेपालमा निर्माण र सेवा क्षेत्रमा भएको सकारात्मक विकासको प्रभाव अर्थतन्त्रमा परेको विश्वबैंकले उल्लेख गरेको छ ।