विश्व

जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित

टोकियो । जापानमा आएको शक्तिशाली विनासकारी आँधिका कारण सोमबारसम्म दुई दर्जन मानिसको ज्यान गएको पुष्टी भएको छ ।

यद्दपी यो आंकडा निकै माथि पुग्न सक्ने अनुमान संचारमाध्यमले गरेका छन् । राजधानी टोकियोसहित जापानका धेरै स्थान प्रभावित हुने गरी हागिबिस नामक आँधी आएको थियो ।

जापानी संचारमाध्यम एनएचकेका अनुसार २५ जनाको निधनको पुष्टी भइसकेको छ । हजरौं सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

अझै दुई दर्जन मानिस हराइरहेका छन् । शनिबार आएको आँधिले राजधानी टोकियोमा सबैभन्द बढी क्षति पुर्‍याएको छ ।

अहिले आँधि शान्त भइसकेको छ, तर, त्यसले पुर्याएको असर भने निकै भयाभह रहेको बताइएको छ । आँधिका कारण जापानमा ठूलो वर्षा भएको छ ।

यसले नदीहरुमा जलप्रवाह ह्वात्तै बढाइदिएको छ । सोहीकारण वस्तीमा नदी पस्दा ठूलो मानवीय क्षति हुन पुगेको हो । आँधिले गर्दा ३ लाख ७६ हजार घरको विद्युत आपूर्ति बन्द भएको छ ।

१४ हजार घरको खानेपानी आपूर्तिसमेत प्रभावित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । सरकारले आँधीपछि २७ हजार सेना तथा स्वयंसेवक बललाई उद्धार र राहतमा खटाएको छ।

जापानका १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको छ । २१ नदीको बाँध फुटेको छ । यो आँधीलाई पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ ।

जापानमा आएको आँधिबाट नेपालीहरु भने सुरक्षित रहेको बताइएको छ । अहिलेसम्म कुनै पनि नेपालीबारे दुखद खबर आएको छैन ।