फिचर

गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन मंगलबारबाट राजधानीमा शुरु भएको छ । करीव ८५ देशका २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन बिहीबारसम्म चल्ने छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र लगानीमैत्री वातावरण बनेको भन्दै लगानी बढाउन गैरआवासीय नेपालीसँग आह्वान गरिन् ।

राजनीतिक स्थायित्व, लगानीमैत्री नीति तथा कानूनहरु र शान्ती सुरक्षाको मजवुत अवस्थाका कारण यसबेला नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको सरकारको तर्क रहेको छ ।

नेपालमा आन्तरिक र बाह्या दुबै ढंगले लगानीमैत्री वातावरण बनेको उनको भनाई थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको समृद्धिको यात्रामा सरकारलाई साथ दिन गैरआवासीय नेपालीसँग अनुरोध गरे ।

मुलुक उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको समेत उनको भनाई छ । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

गैरआवासीय नेपाली उर्जावान रहेको भन्दै उनले जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार आश्वासन समेत दिएका छन् । त्यसका लागि सरकारले आफूहरुको समस्यालाई गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीको ठूलो खर्च मातृभूमिमै भइरहेको भन्दै लगानी अनुसारको प्रतिफल सुनिश्चित गराउन सरकारसँग आग्रह गरे ।

संघको यो सम्मेलनले आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्वको समेत चयन गर्ने भएको छ । त्यसका लागि बुधबार निर्वाचन हुने कार्यक्रम रहेको छ । निर्वाचनमा वामपन्थी समूहबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा उत्रिएका छन् ।

हरेक विषय राजनीतिकरण भएको भन्दै सरकारको तिब्र आलोचना गर्ने गैरआवासीय नेपाल आफूहरु स्वयमः भने दुई पार्टीको खेमामा विभाजित भएका छन् ।

संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं सम्मेलन नै बहिस्कार गरिदिएका छन् । सम्मेलनको व्यवस्थापन भने निकै भद्रगोल देखिएको छ ।

राष्ट्रपतिको सम्बोधनका क्रममा प्रेस पास बोकेका पत्रकारलाई समेत समाचार संकलनमा सुरक्षाकर्मीले रोक लगाएपछि सम्मेलनको व्यवस्थापनप्रति आलोचना भइरहेको छ ।