विश्व

कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित

कतार । कतारमा नेपालीले कानून विपरित राजनीतिक गतिविधि गरेको तथा चन्दा संकलन गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।

कतारस्थित नेपाली दूतावासमा पत्र पठाउँदै कतार सरकारका विभिन्न निकायले यस्तो सूचित गराएका हुन् ।

कतारमा रहेका केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले नेपाली राजदुतावासलाई पत्र पठाएको हो ।

वैदेशिक रोजगारीको लागि कतार गएका कामदारहरुले पूर्व स्वीकृत नलिई स्थानीय कानुन र प्रचलन प्रतिकुल हुनेगरी यस्ता कार्य गरेको कतार सरकारको भनाई छ ।

दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै कतार सरकारको उक्त चासोबारे सार्वजनिक गरेको हो ।

दूतावासले कतारी कानून अनुसार गैरकानूनी ठहरिने कुनै पनि गतिविधि नगर्न नेपाली समूदायसँग आग्रह गरेको छ । विभिन्न कार्यक्रम तथा गतिविधिका लागि भन्दै चन्दा संकलन गर्ने काम विदेशमा व्यापक हुने गरेको छ ।