कानुनी कुरा

जापानमा विवाह गरेर अमेरिका ल्याउन सकिन्छ ?

रमेश श्रेष्ठ
कानुन व्यवसायी,न्युयोर्क

म ३ वर्षअघि डिभी लटरीमार्फत अमेरिका आएको हुँ । मैले अब विवाह गर्ने सुर गरेको छु । मेरो प्रेमिका जापानमा अध्ययन गर्दै छिन् । हाम्रो अन्तरजातीय विवाह हुने भएकाले घरमा वा नेपालमा विवाह गर्न गाह्रो छ । त्यसकारण हामीले जापानमै विवाह गर्न के–कस्तो कागजातहरु तयार गर्नुपर्ला ? विवाह गरिसकेपछि के–कस्ता प्रक्रियाबाट उसलाई अमेरिका ल्याउन सकिन्छ होला ?
– केसी, न्यूयोर्क

कुनै पनि अविवाहित उमेर पुगेका युवक र युवतीले आफ्नो राजीखुसीबाट विवाह गर्न चाहेको खण्डमा संसारको कुनै पनि मुलुकमा विवाह दर्ता गर्न सकिने सर्वमान्य नियम रहेको छ । यदि तपाईं र तपाईंको प्रेमिकाको विवाह दर्ता जापानमा गर्ने निर्णय भएको भए जापानको विवाह दर्ता गर्ने कोर्ट वा म्याजेस्टे«टको अफिसमा गएर त्यहाँको शर्तहरु वा नियमहरु केके छ, सो तपाईंको प्रेमिकाले बुझ्नुभएको खण्डमा अवश्य पनि विस्तृत जानकारी पाउन सकिनेछ । जे–जस्तो नियम कानून भए तापनि तपाईं व्यक्तिगतरुपमा विवाहका लागि उक्त निकाय जानुपर्ने हुन सक्छ ।अमेरिकामा विवाह दर्ता गर्ने नियमको कुरा गर्ने हो भने मुख्यगरी अविवाहित भएको, उमेर पुगेको र राजीखुसी विवाह गर्न गएको कुराहरु प्रमाणित गर्नुपर्ने हुन्छ । विवाहको प्रक्रिया आवश्यक निवेदन पेश गर्न र साक्षीहरुको रोहवरमा विवाह गर्नुपर्ने हुन्छ । जबसम्म दर्ताको प्रक्रिया पूरा भई विवाह दर्ता प्रमाणपत्र प्राप्त हुँदैन, तबसम्म विवाह कानूनीरुपमा मान्यता प्राप्त भएको मान्न सकिँदैन । विवाह दर्ताको प्रक्रिया पूरा गरेपछि तपाईंले श्रीमतीका लागि आई–१३० फेमिली पेटिसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ । यदि तपाईंको श्रीमती जापान वा नेपाल हुनुहुन्छ भने कन्सुलर प्रोसेसिङ गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ ।