अमेरिका

जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर आत्महत्या

न्युयोर्क र न्युजर्सी राज्य बीच आवतजावत गर्ने मुख्य मार्गमा पर्ने अति व्यस्त जर्ज वाशिंटन ब्रिजबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । आज बिहिबार दिउँसो १ बजे नाम नखुलाईएका २१ वर्षीय एक युवाले दुई तल्ले पुलको माथिल्लो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या गर्ने ती युवाले न्युजर्सीबाट न्यूयोर्कको म्यानहाटन जाने तर्फबाट पुलको मध्य भागमा पुगेपछि गाडी साईडमा राखेर पुलको माथि चढेर बिशाल हड्सन रिभरमा हामफालेको हो । केही समयपछि पानीमा डुबेको मृत शरीर बाहिर निकालिएको थियो ।

जर्ज वाशिंटन ब्रिजको माथिल्लो तल्लामा सुरक्षाको लागि किनाराको दुबै तर्फ तारको बार लगाईएको भएपनि ति युवा कसरी खोलामा खसे प्रष्ट नभएको अधिकारीहरुले बताएका छन् । आत्महत्याको कारण बारे मेडिकल एक्जामिनरहरुले अनुसन्धान  गरिरहेको बताएका छन् । 

श्रोत : न्युयोर्क पोष्ट