समाचार

प्याजको संकट टर्यो : भित्रियो रसुवागढीबाट

कार्तिक १, बेत्रावती, रसुवा

पछिल्लो समय अत्यन्त व्यस्त रहेको रसुवागढी नाकाबाट चिनियाँ प्याज नेपाल भित्रिन थालेको छ । भारत सरकारले भारतमा प्याजको मुल्य उच्च बिन्दुमा पुगेको ठहर गरी भारतबाट अन्य देशमा निर्यात हुने प्याजलाई प्रतिबन्ध गरेको थियो ।

भारतको प्याज नेपाल भित्रिन नपाएपछि नेपालमा प्याजको मुल्य आकासिएको हो । गत असोज महिनामा मात्र रसुवागढी नाकाबाट अढाई लाख किलो प्याज नेपाल आएको छ । यो प्याज नेपाली बजारमा पुगेपछि मुल्य समेत सामान्य हुने बताईएको छ । गत असोज १२ देखि नेपालमा प्याज भित्रिएको थिएन ।

रसुवागढी भन्सार कार्यालयका अधिकृत पुण्य बिक्रम खड्का बताउँछन् “यस नाकाबाट एक महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको छ” । खड्काका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा रसुवागढी नाका भएर नेपालमा प्याज आयात भएको थिएन ।

नेपाली व्यावसायीले प्रस्तुत गरेको भन्सार बिजक अनुसार असोज महिनामा आयात भएको प्याज १ करोड २२ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको हो । व्यापारीद्वय ताराबहादुर बस्नेत र लाक्पा छिरिङ्गले चीनबाट प्याज भित्र्याएको रसुवागढी भन्सारको अभिलेखमा छ । आर्थिक वर्ष ०७५/०७६ मा नेपालले भारतबाट १६ करोड ७९ लाख केजी प्याज आयात गरेको थियो ।