समाचार

राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा भएको छ ।

उनी २९ असोजमा म्यानमार पुगेकी थिइन् । आइतबारदेखि ५ कात्तिकसम्म जापान भ्रमण हुने मन्त्तालयले जानकारी दिएको छ ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।