समाचार

प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विवाद नरहेको बताएका छन् ।

पछिल्लो एक सातायता प्रधानमन्त्री र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री पद चलाउने सहमतिको विषयलाई लिएर विवाद रहेको सार्वजनिक भएको थियो ।

प्रधानमन्त्रीले यसबीचमा दुई वटा पत्रिकामा अन्तर्वार्ता समेत दिएर प्रधानमन्त्री पद कसैले माग्दैमा नपाउने आशय समेत व्यक्त गरेका थिए ।

यससम्बन्धमा बाहिर टिकाटिप्पणी बढेसँगै प्रचण्डले स्पष्टिकरण दिएका हुन् । उनले मिडियामा हल्ला भएजस्तो दुई अध्यक्षबीच कुनै विवाद नरहेको बताएका हुन् ।

मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रम सकाएर पाँचथरमा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । पार्टी एकताका क्रममा भएका सहमती क्रमशः कार्यान्वयनको चरणमा रहेको उनको भनाई छ ।

उनका अनुसार सोमबार मात्र ओली र प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो । छलफलमा विवाद नभई मिलाउन बाँकि विषयवस्तुका सन्दर्भमा कुरा भएको उनले उल्लेख गरे ।