समाचार

युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो ।

बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि जहाजबाट नेपाल ल्याएर हिरासतमा राखिएको हो ।

उनीमाथि झापामा आजभन्दा २० वर्ष अगाडी एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । उनी एक दशकदेखि अमेरिकामा मै बस्ने गर्थे । प्रहरीका अनुसार उनी झापा चन्द्रगढी ३ का ४२ वर्षीय लीलाराज गौतम हुन् । इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरिएको थियो ।

उनलाई त्यसयता अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले बुधबार मात्र उनलाई नेपाल ल्याउन सफल भएको हो । झापाको चन्द्रगढी ३ बस्ने सन्ध्या राजबंशीलाई ०५७ साल असोज २९ गते राति चारआली जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

उनको सामूहिक बलत्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ । उनको सामुहिक बलात्कार पछि घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले लीलाराज गौतम, मनोज खड्का र सीताराम बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

घटनाको भोलिपल्ट ३० असोजमा असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएका थिए ।

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दिएको थियो । उक्त वर्ष नै २८ चैतमा पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

हत्याको ९ वर्षपछि सर्वोच्च अदालतले भने तल्ला अदालतहरुको निर्णय उल्टायो । २९ भदौ ०६६ मा सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनाएको हो ।

त्यतिन्जेल गौतम नेपालबाट भागेर अमेरिका पुगिसकेका थिए । उनी अमेरिका रहेको खबर प्रहरीले सन् २०१८ मा मात्र फेला पारेको थियो । त्यसपछि इन्टपोलमार्फत प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।