डायस्पोरा

न्यूयोर्कका किराँतीहरुले मनाए वलिहाङ तङनाम

अक्टोबर, २७ न्यूयोर्क

२६ अक्टोबर, शनिबार साँझ किराँत वलिहाङ तङनाम, न्यूयोर्कले न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसको सभाकक्षमा दीपावली साँझ मनाएको छ । फिप्ना अन्तर्गत रहेको यस आदिबासी संस्थाले नेपाली समुदायमाझ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सहित तङनाम साँझ मनाएको हो ।

कार्यक्रमको पहिलो सत्रमा औपचारिक कार्यक्रम अन्तर्गत संस्थाका पदाधिकारीहरुले ईतिहासमा योगदान पुर्याएका ईमान सिंह चेम्जोङ, राष्ट्रिय बिभुती फाल्गुनन्द र सिरिजुंगाको तस्बिरमा माल्यार्पणगरी उनीहरुको योगदानलाई समरण गरेका थिए ।

यसै अन्तर्गत फिप्नाका अध्यक्ष मान राना मगरले प्रबासमा गरिने यस्ता कार्यक्रमले हाम्रो कला, संस्कृती र चाडपर्वको गरिमा अझ उँचो बनाएको बताए । संस्थाका अध्यक्ष बिरेन्द्र हाङ् लाबुङ्ग लिम्बुले कार्यक्रममा उपस्थित समुदायलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता कार्यक्रम अझ शसक्त गर्ने बताएका छन् । कार्यक्रममा लिम्बुभाषामा गाजाबाजा सहित देउसीभैलो खेलिएको थियो । देउसी टोलीले राम्रो दक्षिणा उठाएका थिए । 

कार्यक्रमको सञ्चालन प्रस्तोता सुमन थाम्सुहाङ लिम्बुले गरेका थिए भने दोश्रो सत्रको सांस्कृतिक कार्यक्रमलाई लमु लामा लिङ्देनले गति दिएका थिए ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएका नृत्यहरु बसन्त डान्स सेण्टर न्यूयोर्कका बिजय नकर्मीले कोरियोग्राफ गरेका थिए । त्यसै गरी स्थानीय गायिक गायिकाहरुले बिभिन्न नेपाली गीतहरुले मनोरञ्जन गराएका थिए । कार्यक्रममको अन्त्यमा डिजे एलएसको डिजेईङ चलेको थियो ।