समाचार

विश्वमा नै सबैभन्दा धेरै खोजी गरिएका आतंकबादी नेता बग्दादी मारिएको ट्रम्पको दाबी

राष्ट्रपति डोनल्ड ट्रम्पले तथाकथित इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी अमेरिकी फौजद्वारा सिरियामा मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आईतबार बिहान बोल्दै ट्रम्पले भागेर एउटा सुरुङसम्म पुगेका अल-बग्दादीलाई अमेरिकी सेनाका कुकुरले लखेटेको बताए ।

इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल-बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए।

इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रूर शासन लादेको थियो।

विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहको हात रहेको बताइन्छ ।

इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर ‘क्यालिफेट’ परास्त भएको घोषणा गरेको थियो।

यसै महिनाको शुरूतिर उत्तर सिरियाबाट अमेरिकी फौजलाई फिर्ता बोलाउने निर्णय गरेका कारण व्यापक आलोचना खेप्दै आएका ट्रम्पका लागि अल-बग्दादीको मृत्यु एउटा ठूलो जित हो ।

सिरियाको इड्लिब क्षेत्र जहाँ अमेरिकी फौजले कारबाही गरेको हो

डेमोक्र्याटहरूले ट्रम्पमाथि महाभियोग लगाउने विषयमा छानबिन अघि बढाएका बेला पनि आएको यो खबर उनका लागि अर्थपूर्ण छ ।

स्थानीय समय अनुसार आइतवार बिहान एउटा अस्वाभाविक वक्तव्य दिँदै ट्रम्पले सिरियाको इड्लिब प्रान्तस्थित एउटा सुरुङमा अल-बग्दादी ‘चिच्याउँदै र रुदै मरेको’ बताएका छन् ।

आईएसका नेता अल-बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्छन् । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो । विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए ।

कतिपयका अनुसार सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए ।

अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए ।

सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।

सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए ।

आइएसमा पछि सो समूह समाहित भएको थियो । सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए ।

यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।

त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।

त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर ‘केलिफेट’ निर्माणको घोषणा गरेका थिए।

सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो।

आईएसले आफ्नो बर्बर शासन झन्डै ८० लाख मानिसमाथि लादिरह्यो । अनेकौँ हत्या गर्‍यो, सांस्कृतिक धरोहरहरू नष्ट पार्‍यो र तेल बिक्री, चन्दा असुली, लुटपाट एवम् फिरौतीबापत अर्बौँ डलर आर्जन गर्‍यो ।

पाँच वर्षदेखि भएको भीषण एवम् रक्तपातपूर्ण लडाइँपछि एकताका आफूले नियन्त्रण कायम गरेको सबै भूभागबाट आईएस धपाइएको छ।

अमेरिकी नेतृत्वमा सन् २००३ मा इराकमा गरिएको अतिक्रमणपछि सुन्नी मुस्लिमहरूले बनाएको अल-कायदाबाट आईएस बनेको हो।

सन् २०११ ताका इस्लामिक स्टेट इन इराक आईएसआई नामले परिचित उक्त समूह सिरियामा राष्ट्रपति बशर अल-असादविरुद्धको विद्रोहमा सामेल भयो । त्यहाँ उसले आफ्नो सुरक्षा स्थान बनायो ।

उसले इराकबाट अमेरिकी फौजको फिर्ती तथा शिया नेतृत्वको इराकी सरकारको साम्प्रदायिक नीतिप्रति सुन्नीहरूको आक्रोशको फाइदा पनि उठायो।

सन् २०१३ मा आईएसआईले सिरियाली भूभागमाथि कब्जा जमाउन थाल्यो र आफ्नो नाम परिवर्तन गरी इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट अर्थात् आईसिस/आईसिल राख्यो।

अर्को वर्ष उसले इराकको ठूलो भूभागमा नियन्त्रण कायम गर्‍यो र आफ्ना नेता अबु बकर अल-बग्दादीलाई ईश्वरका प्रतिनिधि घोषणा गर्दै इस्लामिक स्टेटको रूपमा परिचित भयो।

आफ्नो पकडको उत्कर्षमा आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा शासन गर्‍यो।

करिब ८० लाख मानिसहरूले शरियाको व्याख्याबमोजिम जीवन गुजारा गरे।

महिलालाई पूरै जीउ ढाक्ने नकाब लगाउन बाध्य पारियो, दिनहुँजसो सार्वजनिक रूपमा मान्छेको टाउको छिनाइन्थ्यो, बालबालिकालाई विद्यालयमा निर्देशित गरिन्थ्यो र इसाईहरूले कर तिर्ने, धर्म परिवर्तन गर्ने अथवा मृत्युवरण गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्थ्यो।

प्रभावशाली मुस्लिम नेताहरूले आईएसको ‘क्यालिफेट’लाई अस्वीकार गरे। तर दशौँ हजार विदेशीहरू सो समूहमा सामेल हुन पुगे।

प्रत्येक महिना तेल तस्करी, चन्दा असुली, लुटपाट र फिरौती बापत आईएसले दशौँ लाख डलर आर्जन गर्थ्यो।

प्राचीन स्थलहरू र मूर्तिहरू नष्ट गरेर पनि सो समूहले व्यापक आक्रोश निम्त्यायो।

समाचार सभार : बि बि सि नेपाली