समाचार

‘हाइज्याकिङ फर डेमोक्रेसी’ बृतचित्र प्रदर्शनी

कल्पना घिमिरे

न्यूयोर्क/अमेरिका
पञ्चायती शासन विरुद्ध शसस्त्र क्रान्ति गर्नका लागि रकम जुटाउन के कसरी योजना बनाइएको थियो भन्ने बारे ‘हाइज्याकिङ फर डेमोक्रेसी’ नामक बृत चित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगार्थ गत शुक्रबार न्यूयोर्कमा बृतचित्र प्रदर्शन गरिएको हो ।
पत्रकार जगत नेपालले तयार पारेको बृतचित्रमा नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते गरेको जहाज अपहरणको घटनाको वास्तविकता देखाइएको छ । ‘हाइज्याकिङ फर डेमोक्रेसी’ मा ४६ वर्ष अघिको घटनामा संलग्न बास्तविक पात्र हरुको अनुभव समेटिएको छ ।
तात्कालिन समयमा शसस्त्र क्रान्ती गर्दा सेनाहरुलाई खाजापानीका लागिसमेत खर्च अभाव थियो । खर्च जुटाउन नसकेपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जहाज अपहरण गर्ने योजना बनाइएको थियो । नेपाल राष्ट्र बैंकको ३० लाख रुपैयाँ बोकेर बिराटनगरबाट काठमाडौंका लागि उडेको जहाजलाई भारतको फारवेशगञ्जमा अवतरण गराएर क्रान्तकारीहरुले ३० लाख भारतीय रुपैया कब्जामा लिई जहाज र यात्रुलाई सकुसल फकाई दिएको घटनाको वास्तविकता बृत्रचित्रले उतारेको छ ।
त्यतिबेलाको समयमा जहाज अपहरणको योजना कसरी बनाइयो, ३० लाख रुपैयाँ बोकेर जहाज उड्दैछ भन्ने गोप्य सुचना कसरी प्राप्त भयो ? जहाज अपहरण गरेर पैसा लिने कुरा बीपी कोइरालालाई कसरी मनाइयो ? जहाजका यात्रुहरुलाई सरक्षित रहेको कसरी आश्वस्त पारियो ? लगायत विषयलाई बृतचित्रले निकै महत्वपूर्ण ढंगले प्रस्तुत गरेको छ । ‘यो एउटा बृतचित्र मात्र होइन वास्तविक घटनाको गहिरो रिसर्च पनि हो’ बृतचित्र हेरिसकेपछि प्रतिक्रिया दिँदै अनन्त सुवेदीले भने, ‘वास्तविक घटनाका वास्तविक पात्रहरुको अनुभवलाई प्रत्यक्ष प्रस्तुत गर्दै बनाइएको दक्षिण एसियाकै पहिलो बृतचित्र पनि हो । यसलाई मुलुकको एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज नै भन्दा हुन्छ ।’
बृतचित्रमा जहाज अपहरणका योजनाकार, अपहरणकारी, पाइलट र यात्रु लगायत रियल क्यारेक्टरबाटै अपहरणको कथा र वास्तविकता सुनाइएको छ । विगतमा जहाज अपहरणका मुख्य कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइराला, र सहयोगी भुमिका खेल्ने स्वर्गीय शुशिल कोइराला, स्वर्गीय चक्र बाँस्तोला लगायतको भोगाइ र अनुभवलाई प्रत्यक्ष समेटिएको छ । मरेर गइसकेका देशका धरोहरहरुले प्रत्यक्ष बोल्दा विगत झल्किन्छ ।
बृतचित्र प्रदशर्नी निशुल्क गराइएको थियो भने सहभागीहरुले स्वइच्छाले रकम सहयोग गरेका थिए । सहभागीबाट संकलन भएको ७४२ अमेरीकी डलर शुक्रबारै फाउण्डेशनलाई बुझाइएको थियो ।