मनोरञ्जन

तराई र काठमाडौंमा छठको रौनक

काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे ।

नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् ।

घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न वनस्पतिसहित अर्घ्य बनाउने प्रचलन रहेको छ । घरमा निर्माण गरेका अन्नको पीठोबाट बनेका पकवान यस पूजामा प्रयोग हुन्छ ।

केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोजस्ता सामग्रीको जोहो गरेर पूजामा जुट्ने प्रचलन रहेको छ ।

छठीमाईको पूजा हुने यस पर्वमा भगवान् विष्णुको समेत आरधना गरिन्छ । आइतबार उदाउँदो सूर्यको पूजा गरी यो पर्व मनाइन्छ । छठमा उदाउँदो र अस्ताउँदो दुबै सूर्यको पूजा गर्ने प्रचलन रहेको छ ।