फिचर

बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ ।

नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् ।

मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारी समेत सहभागी भएको वेवसाइटले उल्लेख गरेको छ ।

प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा ७ नोभेम्बरमा नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको छ ।

कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गरिने भएको छ ।

कार्यक्रममा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको वेवसाइटमा उल्लेख गरिएको छ ।

लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरलाई पनि कदर पत्र प्रदान गरिने भएको छ ।

ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिने भएको छ ।

त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल) आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिने वेवसाइटले लेखेको छ ।