स्वास्थ्य

दिल्लीमा स्वास्थ्य संकटकाल, प्रदूषणले भयावह

नयाँ दिल्ली । वायु प्रदूषणले आकास नै ढाकिदिएपछि भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

प्रदूषणले हावामा विषाक्त फैलिएपछि भन्दै भारतको राजधानीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको हो । दिल्ली सरकारले विद्यालयहरु एक साताका लागि बन्द गरेको छ ।

विद्यार्थीहरुका लागि मास्क वितरणको काम तिब्र बनाइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार विद्यालयमा ५० लाख भन्दा बढी मास्क वितरण गरिने भएको छ ।

दिल्लीमा तीन दिनसम्म सबै प्रकारको निर्माणको काम रोकिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा २० गुणा बढी हानिकारिक तत्व मिसिएको हावाले दिल्लीको आकास ढाकेपछि दिल्ली सरकार संकटकाल घोषणा गर्न बाध्य भएको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ग्यास च्याम्बरमा परिणत भएको प्रतिक्रिया दिएका छन् । उनले सबैलाई मास्क प्रयोग गर्न समेत आह्वान गरेका छन् ।

यहाँ हरेक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा हावा निकै प्रदूषित हुने गरेको छ । खासगरी दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा कृषकले खेतमा ठूटा र खोस्टा जलाउन लाग्ने आगोका कारण धुँवा फैलने गरेको छ ।