स्वास्थ्य

सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् ।

आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

सनाखत भएकामध्ये दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ र दोलखाकी ५० वर्षीया रक्तकुमारी रावत रहेको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पताल र श्री मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङको निधन भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट बस काठमाडौंका लागि छुटेको थियो ।

यात्रुहरुका अनुसार बस दूर्घटनामा पर्नुअघि पनि बिग्रिएर बनाइएको थियो । करीव आधा घण्टा लगाएर बनाएको बस ओरालो सकिएर सजिलो बाटोमा आएको थियो ।

त्यसपछि बसले खाना ख्वाएको थियो । खाना खाएर गुडेको ५ मिनेट भित्रै सडकबाट सुनकोशी नदीमा झरेको घाइते यात्रुहरुले बताएका छन् ।

तिब्र गति र बिग्रिएको बस भएकाले दूर्घटनामा परेको आंशका छ । बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको हो ।

दूर्घटनास्थलबाट ५४ जनाको भने उद्धार गरिएको थियो । उनीहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । बसका चालक धनबहादुर तामाङ समेत घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।