समाचार

वर्ल्ड नेपाली म्युजिक अवार्डको ‘ग्राण्ड फिनाले’ न्यूयोर्कमा

न्युयोर्क/अमेरिका
अमेरिकाको न्यूयोर्कमा वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ को ‘ग्राण्ड फिनाले’ गरिने भएको छ । नेपाली सांगितिक इतिहासमै पहिलो पटक विश्वभरका कालाकारहरु समेटेर यस्तो कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा विश्वभर छरिएर बसेका प्रतिभाशाली कलाकारलाई प्रतिस्पर्धा गराएर उत्कृष्ठ छानिनेछ । वर्ल्ड कनेक्सन युएसए इन्क र फिदर क्रिएसन प्राइभेट लिमिटेड नेपालको सहकार्यमा आयोजना गर्न लागिएको वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ आगामी नोभेम्बर २३ मा हुँदैछ । ‘नेपाली संगितलाई संरक्षण गरौं । अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरौं ।।’ भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपाल सरकारका प्रतिनिधिको प्रमुख आतिथ्यमा अमेरिकी सरकारी निकायका प्रतिनिधि तथा धर्मगुरुहरुको बिशेष उपस्थितिमा विविध सांगितिक कार्यक्रमका साथ अन्तराष्ट्रियस्तरको यो कार्यक्रमको ग्राण्ड फिनाले घोषणा गरिने जनाइएको छ ।
प्रारम्भिक चरणमा विश्वभरीमा छरिएर रहेका नेपालीहरुको बिभिन्न १८ विधामा ७८२ निबेदन पर्न आएको थियो । त्यसमध्ये नेपालमा रहेको निर्णायक मण्डल (जुरी कमिटि)ले गत सेप्टेम्बरमा उत्कृष्ठ १० को छनौट गरिसकेको छ ।
छानिएका उत्कृठ १० जनाबाट बिभिन्न १८ विधामा उत्कृष्ट तीन (टप थ्री) को पनि छनौट भइसकेको आयोजकले जनाएको छ । आगामी हुने कार्यक्रममा बिभिन्न १८ बिधाका उत्कृष्ठ ३/३ जना गरी ५४ जनाको सहभागीता
रहने छ । कार्यक्रममा यी बिभिन्न बिधाका टप थ्री मध्ये उत्कृष्ठ एक/एक छनौट गरिनेछ र अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सांगितिक तथा संस्कृतिक प्रस्तुतीका लागि नेपालबाटै चर्चित, गायक, गायिका तथा कलाकारहरुको सहभागीता र प्रस्तुती रहनेछ । कार्यक्रममा नेपालबाट गायिका अन्जु पन्त, ज्योती मगर, सत्यकला राई, नायिका केकी अधिकारी, आँचल शर्मा, हाँस्यकलाकार उमेश राइ (फुलन्देकी आमा), पार्वती राइ, मरिस्का पोख्रेल, मिलन लामा, मिङमार शेर्पा, शंकर बिसी, आरुसी मगर लगायतको ठूलो समुह नेपालबाट आँउने तयारी भइरहेको कार्यक्रमका कन्भेनर राजकुमार बिष्टले जानकारी दिए । नेपाली गीत संगित क्षेत्रका पप गीत, लोकगीत, भाषिक गीत, नृत्य लगायत बिभिन्न १८ वटा बिधामा उत्कृष्ट छनौटमा परेका ५४ कालाकार पनि आउनेछन् ।
व्यवसायिक गीतकार र सङ्गीतकारले गरेको मूल्याङ्कन र श्रोताको भोटका आधारमा टप थ्रीमा परेका कलाकारहरुबिच ग्राण्ड फिनालेमा प्रतिस्पर्धा घोषणा हुनेछ ।
कार्यक्रमका लागि गत जुन २१ देखि अगस्ट १३ सम्म बिभिन्न विधाबाट आवेदन सङ्कलन गरिएको थियो । छनौट समतिको मूल्याङ्कनका आधारमा गत सेप्टेम्बर २९ मा विभिन्न १८ विधाबाटै उत्कृष्ठ १० छनौट गरिएको थियो भने उत्कृष्ठ १० मा परेका गीत सङ्गीतबाट एसएमएस भोटिङ र छनौट समितिको मूल्याङ्कनका आधारमा गत अक्टोबर २४ मा टप ३ छानिएको आयोजकले जनाएको छ ।
आगामी नोभेम्बर २३ मा हुने वर्ल्ड नेपाली म्युजिक अवार्ड कार्यक्रममा टप थ्री बाट बिजेता घोषणा गर्दै अवार्ड प्रदान गरिनेछ ।