समाचार

अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको थियो ।

आदेश आफूले सोचे विपरित आएपछि महरा निकै भावुक बनेका थिए । उनीमाथि आरोप लगाउने रोशनीले भने पटक पटक बयान फेर्दै महरा निर्दोष रहेको बताउँदै आएकी छिन् ।

तर, अदालतले भने घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अब मुद्धाको अन्तिम टुंगो लागेपछि निर्दोष सावित भए उनी घर फर्कन पाउने छन् नभए जेल सजाय भोग्नु पर्ने छ । प्रहरीले महरालाई डिल्लीबजार कारागार लगेको छ ।

उनी पक्राउ पछि रोशनीले भने महराले आफूमाथि कुनै अपराध नगरेको बताउँदै आएकी छिन् । सोमबार पनि इजलासमा बोल्न खोजेकी उनलाई न्यायाधिसले बोल्ने अनुमति दिएनन् ।

उनले घटना भएको राती नै सांसदहरुलाई एसएसएस गरेपछि यो घटना सार्वजनिक भएको थियो । त्यसलगत्तै एक संचरमाध्यमबाट उनको भिडियो सार्वजनिक भयो ।

तर, लगत्तै उनले बयान फेर्दै महरा निर्दोष रहेको बताएकी थिइन् । तर, प्रहरीले अन्य प्रमाणका आधारमा महराबाट अपराध भएको निष्कर्षमा पुगी प्रतिवेदन बनाएको थियो ।