स्वास्थ्य

देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

डडेलधुरा । विगतका सहमति सरकारले पालना नगरेको भन्दै डा. गोविन्द केसी अनसनमा बसेका छन् । उनले यस पटक सरकारी निकाय नभई एक सर्वसाधारणको घरलाई छनोट गरेका छन् ।

पूर्वसहमति कार्यान्‍वयनको माग गर्दै उनी कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अनसन थालेका हुन् । यो उनको १७ औं अनसन हो ।

उनले सरकारी जागिरबाट अवकास पाएपछि भने पहिलो पटक अनसन बस्न लागेका हुन् । उनले आफ्ना माग पुरा गर्न भन्दै सरकालाई १३ कार्तिकसम्मको समय दिएका थिए ।

त्यसबेला तिहार परेपछि केही समय सारेर उनी अनसनमा बसेका हुन । अनसन थाल्नु अघि केसीले पत्रकार सम्मेलन गरेका थिए । उनले १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न माग गरेका छन् ।

विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्थाको समेत माग गरेका छन् ।

आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने उनको माग छ ।

अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न समेत उनले माग गरेका छन् ।

नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाको माग समेत उनको छ ।

संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्न उनले आह्वान गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याउन समेत उनले माग गरेका छन् । प्रदेश नं दुई र चार तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन समेत उनले माग गरेका छन् ।

क्यान्सरलगायतका महंगा औषधि भारतभन्दा ४, ५ गुणा महंगो भएको भन्दै उनले सुपथ मूल्यमा उपलब्ध गराउनु पर्ने समेत बताएका छन् ।