डायस्पोरा

१११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

नोभेम्बर ४, कोलोराडो, अमेरिका

१११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम अ.ने.सा.स. कोलोराडो च्याप्टरद्वारा नोभेम्बर ४ तारिकका दिन सम्पन्न गरेको छ ।कार्यक्रमको सभापतित्व अध्यक्ष तारा अधिकारीले र स्वागत मन्तब्यमा महासचिव सम्झना आचार्यले गरेका थिए । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा आगन्तुकहरुबाट माल्यार्पण र दियो बालेर शुभारम्भ गरिएको थियो । अ.ने.सा.स. बोर्ड अफ ट्रष्टीका सदस्य डा.बिजय राज शर्माले महाकवि देवकोटाको जीवनीबारे उल्लेख गर्नु भएको थियो।

कार्यक्रमको दोश्रो चरणमा देवकोटा सम्बन्धी पहिलो रचना आचार्य प्रभाले गर्नु भएको थियो भने अन्य रचना बाचन गर्नु हुनेहरुमा सम्झना आचार्य खनाल, निर्मल प्याकुर्याल, छवि रसाईली, केशब आचार्य, मारिया अधिकारी, बासुदेव खनाल, प्रमिला शर्मा, भुपेन्द्र महत, विजय राज शर्मा, पदम बिश्वकर्मा, मिना पौडेल, कृष्ण मुरारी ढुंगेल, ज्ञानेन्द्र गदाल, ज्ञानेन्द्र राज काफ्ले हुनुहुन्थ्यो यसै क्रममा गायिका सम्झना पाण्डेले देवकोटामा समर्पित छोटो मुनामदनको गीत गाउनु भएको थियो । यसै क्रममा अर्का उदीयमान गायक रविन रेग्मीले पनि “कुन मन्दिरमा जान्छौ यात्री” गीत प्रस्तुत गर्नु भएको थियो।  

कार्यक्रमको अर्को प्रस्तुतीमा उपप्राध्यापक तथा कवि उपमा आचार्यज्युलाई ५ महिलाहरुद्वारा खादा ओडाएर फूलको गुच्छाले स्वागत गर्नु भएको थियो भने उहाँहरुको कृती छन्द कविता संग्रह “मातृत्व बन्दना “को लोकार्पण संस्थाकी अध्यक्ष तारा अधिकारी, प्रमिला शर्मा, मिना पौडेल, आचार्य प्रभा र सम्झना आचार्य खनालले एकै साथ गर्नु भएको थियो।

सोही क्रममा अतिथि लेखिका उपमा आचार्यले आफ्नो कृतिको सन्दर्भमा बिस्तृत बयान गर्नु भई सोही कृतीबाट “आमा” शिर्षकको कविता बाचन गर्नु भएको थियो। यसै क्रममा अ.ने.सा.स. पुर्व केन्द्रिय तथा कोलोराडो च्याप्टर पुर्व अध्यक्ष ज्ञानेन्द्र गदालज्युले श्रष्टा उपमा आचार्यबारे संक्षिप्त परिचय र “मातृत्व बन्दना”भित्रका रचनाहरुबारे प्रकाश पार्नु भएको थियो। 

कार्यक्रमको मध्यतिर अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष्य पदम बिश्वकर्माज्युले कार्यक्रमको सम्बन्धमा छोटो मन्तब्य दिनु हुँदै आफ्नो रचना बाचन गर्नु भएको थियो।कार्यक्रमको अन्त्यमा अध्यक्ष तारा अधिकारीबाट सम्पुर्ण उपस्थित साहित्य प्रेमीहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेको थियो ।