अर्थतन्त्र

फास्ट ट्रयाक हेर्ने सेनाका हाकिममाथि अनियमितताको उजुरी, जिम्मेवारी खोसियो

काठमाडौं । काठमाडौं– निजगढ फास्ट ट्रयाकका आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि अनियमितताको आरोप लागेको छ ।

आरोपसँग सेनाले उनलाई जिम्मेवारीबाट समेत हटाएको छ । द्रुतमार्ग निर्माणमा व्यापक अनियमितता भएको उजुरी रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा परेको थियो ।

त्यसपछि छानविनका लागि उनलाई हटाएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यद्दपी उनको सरुवालाई भने सार्वजनिक गरेको छैन ।

छानविन जारी रहेका कारण जिम्मेवारीबाट हटाएको लामो समयसम्म पनि बाहिर सार्वजनिक नगरेको बताइएको छ । बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानविन भइरहेको र श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको स्रोतको भनाई छ ।

उनको छानविन पुरा नभएसम्म यो आयोजना महासेनानी विकास पोख्रेलले हेरिरहेका छन् । छानविनबाट निर्दोष सावित भएमा भने उनी पुनः जिम्मेवारीमा फर्कने सक्नेछन् ।

राष्ट्रिय गौरवको यो आयोजना तिब्र गतिमा सक्ने लक्ष्यसहित नेपाली सेनालाई दिइएको थियो । १ खर्ब ७५ अर्ब रुपैयाँ लागतको यो आयोजनामा अनियमितताका उजुरी भने निकै पर्ने गरेका छन् ।

सरकारले २७ साउन २०७४ देखि ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तोकेर सेनालाई जिम्मा दिएको थियो । यो आयोजना बनेपछि काठमाडौं र तराईको दूरी केवल सवा १ घण्टामा छोटिने छ ।