फिचर

नेपालमा १५ खर्ब बढिको बजेट, कर्मचारीको तलव १० हजारसम्मले बढ्यो

काठमाडौँ
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संसदमा पेश गरेका छन् । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक प्रावधान अनुसार मंगलबार अर्थमन्त्री खतिवडाले संघीय संसदमा बजेट भाषण गरेका हुन् ।

कुल बजेटमध्ये ६२.४ प्रतिशत अर्थात नौ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ । यो रकम कर्मचारी तलव लगायत बिभिन्न नियमित खर्चमा उपयोग हुनेछ । विकास निर्माणका लागि छुट्याइने पूँजीगत खर्चको हिस्सा भने २६.६ प्रतिशत रहेको छ । अर्थात चार खर्ब आठ अर्ब रुपैयाँ पूँजीगत बजेट बिनियोजन गरिएको हो । स्वदेशी एवं विदेशी कर्जा भुक्तानी (वित्तिय व्यवस्था)का लागि भने एक खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।

बजेट कार्यान्वयनको स्रोतका रुपमा नौ खर्ब ८१ अर्ब रुपैयाँ राजश्वबाट संकलन गर्ने अर्थमन्त्रीले लक्ष लिएका छन् । यस्तै बैदेशिक सहायताबाट ५८ अर्ब रुपैयाँ जुटाइने जनाइएको छ । त्यसपछि अपुग झन्डै पाँच खर्बको घाटा बजेट भने स्वदेशी र विदेशी ऋणबाट पूर्ती गरिने बजेट भाषणमा उल्लेख छ । झन्डै तीन खर्ब विदेशी एवं दुई खर्ब स्वदेशी ऋण लिइने जनाइएको हो ।

बजेटले सबैभन्दा धेरै एक खर्ब ६३ अर्ब शिक्षामा र ६८ अर्ब ७८ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रमा छुट्याएको छ । २०५१ सालमा मनमोहन अधिकारीले सुरु गरेको ‘लोकप्रिय कार्यक्रम’ बृद्धबृत्ता अघिल्लो आर्थिक बर्षमा नबढाउँदा आलोचना खेपेको सरकारले यसपाली एक हजार रुपैयाँ बृद्धि गरेको छ । अब बृद्धभत्ता तीन हजार रुपैयाँ आउने छ ।

यस्तै कर्मचारीको तलव पनि यस पटक अर्थमन्त्रीले बढाएका छन् । नायब सुब्बा तहसम्मका कर्मचारीको तलव २० प्रतिशत र त्यस माथि १८ प्रतिशतले बृद्धि गरेका हुन् । यस्तै कर्मचारीले पाउँदै आएको मासिक दुई हजार महङ्गी भत्ताले पनि निरन्तरता पाएको छ । बजेट पछि कर्मचारीको तलव तीन हजार २४५ देखि नौ हजार ८४२ रुपैयाँसम्मले बृद्धि हुनेछ । अब सबैभन्दा न्यून प्रथम स्तरको कार्यालय सहयोगीले २१ हजार ४७० तलव पाउनेछन् भने सबैभन्दा धेरै मूख्य सचिवको तलवमान ६६ हजार ४०६ हुनेछ ।