फिचर

नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने

काठमाडौं । नेपाल भ्रमणमा भारतीय भन्दा चिनियाँ पर्यटकको संख्या बढी भएको छ । अक्टोवर महिनामा यस्तो आंकडा सार्वजनिक भएको छ ।

नेपाल भ्रमणमा आउने विदेशीमध्ये हरेक पटक भारतीयको बाहुल्य हुने गरेकोमा यस महिनामा भने चिनियाँ पर्यटकले फड्को मारेको पाइएको छ ।

नेपाल पर्यटन बोर्डले अक्टोवर महिनासम्मको तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । तथ्यांक अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको महिनामा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका हुन् ।

अक्टोवर महिनामा १५ हजार ३७ जना चिनियाँ नागरिक नेपाल घुम्न आएका छन् । अक्टोवर २०१८ मा भन्दा ११.५ प्रतिशत बढी पर्यटक यहाँ आएका छन् ।

अक्टोवर महिनामा भारतीय पर्यटकको संख्या १२ हजार ७ सय ६ जना मात्र आएका छन् । भारतीय पर्यटक आगमन वृद्धि ९.१ प्रतिशत रहेको आंकडा बोर्डको छ ।

नेपालमा कूल पर्यटकको संख्या भने भारतीय कै बढी छ । सन् २०१९ को १० महिना (जनवरी देखि अक्टोवर)मा १ लाख ६९ हजार ९ सय ५२ जना भारतीयले नेपाल भ्रमण गरेका छन् ।

यसअविधमा १ लाख ३४ हजार २ सय ८१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जनवरीदेखि अक्टोवर २०१९ सम्म भने कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ ।

अघिल्लो वर्ष भन्दा पर्यटक आगमन मात्र ८ प्रतिशतले बढेको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ । १० महिनामा यूरोप र अमेरिकी मुलुकबाट पर्यटक संख्या अपेक्षित बढ्न सकेको छैन ।

तर, नेपालले यी देशमा बढी प्रवद्र्धनका कार्यक्रम लक्षित गरेको छ । एसियाली क्षेत्रबाट सामान्य वृद्धि देखिएको छ । जापानबाट पनि सामान्य मात्र पर्यटक बढेका छन् ।