घूमघाम

चर्चामा "रसुवा कला यात्रा"

रसुवा

रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो ।

चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा कला यात्रा नाम दिएर ४ दिनका लागि सञ्चालन भईरहेको यो कला यात्रामा रसुवा र नुवाकोटका बिभिन्न महत्वका क्षेत्रहरुको दृष्यहरु क्यानभासमा उतारिने छन् ।

नेपालका बिभिन्न क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याउँदै आएका उपत्यका स्थापित कलाकारका समूहले आसन्न “नेपाल भ्रमण वर्ष २०२०” लाई  लक्षित गरेर स्थानीय संयोजक कलाकारहरुको अनुरोधमा यो कार्यक्रम गरेको हो ।

यस कलायात्रामा राधेश्याम कर्माचार्य, राकेशचन्द्र श्रेष्ठ, झलक केसी, रुविन बाडे, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, सूर्यराम सुवाल सहित स्थानीयस्तरमा रहेर कुची चलाईरहेका छवी रसुवाका शशीकुमार डङ्गोल र डिल्लीराज घिमिरे समेतको सहभागिता रहने छ ।  

काठमाडौंस्थित कला केन्द्रमा हरेक शनिवार कार्यशाला गर्दै आएका स्थापित कलाकारहरुले काठमाडौं, वेत्रावती र कालिकास्थानसम्म गरेको यसकिसिमको कला यात्राले कलामा रुची भएका नयाँ पुस्ता तथा कलाका पारखीहरुलाई थप उर्जा मिलेको छ ।

बिभिन्न समयमा नेपालका अन्य स्थानहरुमा समेत कला यात्रा गरिसकेका राजधानी कर्मथलो बनाएर जमेका कलाकारहरुको समूह रसुवा पुग्दा उतरगया गाउँपालिका वडा ५ रसुवाका अध्यक्ष इश्वर थापा लगायतका स्थानीयले स्वागत गरेका थिए ।

फोटो : शशीकुमार