खेलकुद

मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत

बार्सिलोना । स्पेनिस लालिगा फुटबलमा कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले सेल्टा भिगोमाथि जीत निकालेको छ । यस जीतसँगै बार्सिलोना लीगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

शनिबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हराएको हो । मेसीले दुई फ्रिकीकलाई गोल पोष्टको दिशा दिए । एक गोल भने पेनाल्टीमा गर्दै ह्याट्रिक पुरा गरे ।

२३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । सेल्टा भिगोले ओलाजाको गोलमार्फत ४२ औ मिनेटमा खेल बराबरीमा ल्यायो ।

पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दे मेसीले पुन बार्सिलोनालाई अग्रता दिलाए । ४८ औ मिनेटमा फ्रिकिक मार्फत ह्याट्रिक पुरा गरे ।

सर्जियो बुस्केटले ८५ औ मिनेटमा अर्को गोल थप्दै बासिंलोनालाई ४–१ को अवस्थामा पुर्याए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको रियल म्याड्रिडको समान अंक छ, तर, गोल अन्तरमा बार्सिलोना अगाडी छ ।